एमाले अप्ठेरोमा भालि बैठक बस्दै

काठमाडौ, श्रावण २५ - एमालेले प्रधानमन्त्री चुनाव प्रक्रियाको समीक्षा र नयाँ रणनीति तय गर्न बुधबार
केन्द्रीय कमिटी बैठक गर्ने भएको छ । तटस्थ बस्ने निर्णयले संस्थापन र असन्तुष्ट समूहबीच विवादसँगै बाह्य दबाब बढ्न थालेका बेला बैठक बस्न लागेको हो ।
पहिलो चरणको प्रधानमन्त्री चुनावमै परिमाण ननिस्किएपछि नेताहरू माधव नेपाल र केपी ओलीनिकट केन्द्रीय सदस्यहरूले बैठक गरी नयाँ निर्णयको माग गर्दै आएका थिए । संस्थापन पक्षले राष्ट्रिय सहमतिका लागि साउन ४ गते भएको तटस्थ बस्ने निर्णय परिमार्जन गर्न नसकिने उल्लेख गर्दै बैठकको आवश्यकता नरहेको बताउँदै आएको थियो ।
'राष्ट्रिय सहमतिका लागि के गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो,' सचिव युवराज ज्ञवालीले कान्तिपुरसँग भने, 'यसका लागि केन्द्रीय कमिटीले ठोस प्रस्ताव तयार गर्नेछ ।'
तेस्रो चरणको निर्वाचनपछि अन्य दुवै दलका नेताहरूले चुनावी मैदान छाडी सहमतिका लागि तयार हुने एमालेको अपेक्षा थियो । तर परिणाम ननिस्किउन्जेलसम्म चुनावी मैदान नछाड्ने उनीहरूको अडानले 'तटस्थ' बस्ने निर्णय परिमार्जन गर्ने कि नगर्ने भन्ने अप्ठेरोमा एमाले फसेको छ । निर्णय परिमार्जन नगर्दा अनिर्णयको बन्दीको आरोप खेप्नुपर्ने र परिमार्जन गर्दा दुईमध्ये कुनलाई समर्थन गर्ने भन्नेमा पार्टीर्भित्र आन्तरिक विवाद चर्किने अवस्था छ ।
नेताहरूका अनुसार बुधबारको बैठकबाट कांग्रेस वा माओवादी कसलाई समर्थन गर्ने भन्ने निर्णय हुने सम्भावना अत्यन्तै कम छ । 'यस्तो जोखिमपूर्ण अवस्थामा नजानका लागि अहिलेकै निर्णय यथावत् रहन सक्छ,' एक नेताले भने, 'यो वा त्योलाई समर्थन गर्ने भन्ने निर्णय पार्टीको आन्तरिक जीवनका लागि घातक हुनसक्छ ।'
दुवैमध्ये कसलाई समर्थन गर्ने भन्ने एजेन्डा उठ्दा त्यसको निर्णय गर्न भोटिङमा जानुपर्ने अवस्था हुन्छ । विवाद चर्किएका बेला भोटिङ गरेर जाने मनस्थितिमा नेताहरू छैनन् । 'बैठकबाट निर्णय परिमार्जन हँुदैन राष्ट्रिय सहमतिको नारालाई अझ बढी प्रस्ट पार्ने र थप योजना मात्र सार्वजनिक हुनेछ,' केन्द्रीय सदस्य घनश्याम भुसालले भने, 'अन्य दललाई सहमत गराउने रणनीति थप स्पष्ट रूपमा तयार हुनेछ ।'
ओली र नेपालनिकट सदस्यहरू भने सहमति बन्न नसकेको अवस्थामा पार्टीले उठाइरहेको एजेन्डामा नजिक हुनेलाई समर्थन गर्नुपर्ने विषयलाई बैठकमा उठाउने तयारीमा छन् । 'एउटा सन्दर्भमा गरिएको निर्णय लम्ब्याएर राख्न हुँदैन,' केन्द्रीय सदस्य कर्णबहादुर थापाले भने, 'अब ठोस निर्णय गरेर निकास दिनुपर्छ ।'
अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले माओवादी र कांग्रेसप्रतिको पार्टीभित्रको दृष्टिकोणले समस्या पारेकाले अब कार्यनीति स्पष्ट पार्नुपर्ने बताए । माओवादीले एमालेसँग निषेध र कांग्रेसले प्रतिद्वन्द्वीको भूमिका खेलिरहेको उनले उल्लेख गरे ।
माओवादीले माधव नेपाल व्यक्तिभन्दा पनि राष्ट्रपति प्रकरणपछि बनेको सरकारको मात्र विरोध गरेकाले र सरकारबाट राजीनामा दिएको अवस्थामा फेरि नेपाललाई नै सहमतिको उम्मेदवार बनाउने सकिने उनको धारणा थियो । केन्द्रीय कमिटी बैठकमा उनी यो विषय प्रवेश गराउने तयारीमा छन् । 'माओवादीको माधव नेपालसँग व्यक्तिगत रिसइबी होइन,' उनले भने, 'प्रधानमन्त्रीका प्रत्यासीहरूले पटक-पटकको निर्वाचनमा पनि बहुमत नल्याएको र उनीहरूको नाममा सहमति पनि बन्न नसक्ने अवस्थामा नेपाललाई सहमतिको उम्मेदवार बनाउन सकिन्छ ।'
सहमतिको विकल्पको रूपमा पालैपालो प्रधानमन्त्री चलाउने गरी चक्रीय प्रणालीमा जान सकिने धारणा पनि एमालेभित्र उठेको छ । स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीलगायत नेताहरू यसको लबिङ गरिरहेका छन् । यो प्रस्तावमा अध्यक्ष खनाल पनि सकारात्मक छन् ।

source:kantipur