भदौ ५- भाइको नेतृत्वमा रहेको वाइसिएल कार्यकर्ताको समूहको कुटाइबाट
उत्तरी रसुवाका एक युवक घाइते भएका छन्। घाइते हुनेमा गोल्जुङ–६ बस्ने ४० वर्षीय मिङमर छोवाङ रहेको र उनलाई वाइसिएल कार्यकर्ताले कुटपिट गरी घाइते बनाएको घाइतेका दाजु याङग्याल्पो घलेले जानकारी दिए।
उपचारका लागि आज रसुवा अस्पताल पुर्याइए पनि टाउकोमा गम्भीर चोट भएकाले काठमाडौं लगी परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएको रसुवा अस्पतालले जनाएको छ।
दाजु याङग्याल्पोले खेलमा विजयी भएको खुसियाली भोज खाइरहेको अवस्थामा भाइलाई मरणासन्न हुनेगरी कुटपिट गरेकाले त्यस समूहविरुद्ध किटानी उजुरी दिने बताए।
तीन दाजुभाइ रहेको घले परिवारका सदस्यमध्ये जेठा याङग्याल्पो हुन्। घाइते माइला मिङमर नेपाली कङ्ग्रेससँग आबद्ध छन् भने कान्छो तोप्चेन तामाङ स्थानीय वाइसियल इन्चार्ज हुन्।
source:nagarik