चार लाखमा तीनकोठे घर :

काठमाडौं, भदौ १९ - तपाईं छोटो समयमा थोरै पुँजीले बन्ने घरको डिजाइन खोजिरहनुभएको छ? वा, केही
समयमात्र प्रयोग गर्ने गरी कम लगानीको घर बनाउने सोचमा हुनुहुन्छ?

त्यसो हो भने तपाईं अब चार लाख रुपैयाँमै एउटा परिवारलाई पुग्ने चिटिक्कको घर बनाउन सक्नुहुनेछ - घाम, पानी, आगो, आवाज र भूकम्प प्रतिरोधात्मक। वास्तुशास्त्र मिलाएर तपाईं आफ्नो आवश्यकताअनुसार घरको आकार पनि बढाउन सक्नु हुनेछ। यसका लागि लागत भने बढ्न सक्छ।


राष्ट्र संघीय मिसन र गैरसरकारी संस्थाहरूका लागि कम लगानीमा छोटो अवधिमै घर बनाउँदै आएको आरती एन्ड कम्पनीले यस्तो सुविधा दिन थालेको हो। 'हामीले मिसनहरूका काम गरिरहेका थियौं,' कम्पनीका प्रबन्ध निर्देशक टिका बीएन देउलाले भने, 'अब थोरै पुँजी हुनेका लागि पनि घर बनाउन थालेका छौं।'

कम्पनीले भारतको एभरेस्ट इन्टरनेसनलले उत्पादन गरेको 'सोलिङ वाल प्यानेल', फलामे पाता र जस्तापाता प्रयोग गरेर भूकम्प प्रतिरोधात्मक घर बनाइदिन्छ। 'कम पुँजी भएकालाई २ सय ५६ वर्गफिट क्षेत्रफलको दुई बेडरुम, एक किचन, ट्वाइलेट बाथरुम र सानो बरन्डा भएको घर चार लाखमै बनाइरहेका छौं,' देउलाले भने। चार लाखमा घर बन्ने भएपछि त्यसका लागि ग्राहकले मूल्य अभिवृद्धि कर (भ्याट) भने छुट्टै तिर्नुपर्ने छ।

सिमेन्टको मिश्रणबाट बनेका 'सोलिङ वाल प्यानेल' र जस्ता जडान गरेर २४ घन्टामै यस्तो घर तयार गर्न सकिन्छ। तर, कम्पनीले एक सातामा व्यावसायिक घर बनाउने योजना ल्याएको छ। सिमेन्ट र इँटाको भन्दा निर्माण लागत ३० प्रतिशतसम्म कम गर्न सकिने यो प्रविधिका घरको आयु ३० वर्षसम्म हुने कम्पनीको दाबी छ। शुक्रबार राजधानीमा सुरु तेस्रो गृहसज्जा मेलामा ग्राहकले यस्तो घरको नमूना हेर्न सक्नेछन्।

विशेषगरी भूकम्पको जोखिम बढी हुने स्थानका लागि यस्ता घर उपयुक्त हुने देउलाले बताए। 'जापानमा पनि यस्तै प्रविधिका घर बढी बन्छन्,' उनले भने, 'जापानका घरको वाल प्यानेल हाम्रोभन्दा हलुका हुन्छन्।' जापानी घरमा प्रयोग हुने वाल प्यानेल प्रयोग गर्दा लागत बढ्ने भएकाले सिमेन्ट बेसको प्यानेल बनाएको उनले बताए।
दस वर्ष अघिदेखि यस्ता घर बनाउन सुरु गरेको भए पनि कम्पनीले व्यावसायिक रूपमा सर्वसाधारणको घर बनाउन भने थालेको थिएन। 'हामीले हालै सर्वसाधारणका लागि यस्तो घर बनाउन सुरु गरेका हौं,' उनले भने, '२० वटाजति सर्वसाधारणका घर बनाएका छौं।'

कम्पनीले हालै सिंहदरबारभित्र गृह मन्त्रालय परिसरमा 'राष्ट्रिय आकस्मिक उद्धार केन्द्र' समेत निर्माण गरेको छ। ७ दशमलव ८ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने यो केन्द्रलाई भुइँचालो आएर विपत्ति निम्तिएका बेला उद्धार केन्द्रका रूपा प्रयोग गर्न सकिन्छ। 'हामीले प्रयोग गर्ने वाल प्यानेल इँटाभन्दा दसौं गुणा कम वजनको हुने भएकाले भूकम्पका बेला कसैलाई किचे इँटाले जस्तो हानी गर्दैन,' देउलाले भने। यसअघि कम्पनीले राष्ट्रसंघीय मिसन अनमिनका लागि विभिन्न स्थानमा यस्ता ६० वटा घर बनाएको थियो।

बनिसकेको घर आवश्यक पर्दा अन्यत्र सार्न मिल्ने भएकाले ग्राहकले मन पराउने कम्पनीको दाबी छ। 'विदेशबाट नेपाल आएर केही महिना बस्नेहरूका लागि त झन् यो घर धेरै उपयुक्त छ,' उनले भने।

source:nagarik