विमान प्वाल पारेर चिल छिर्‍यो :

काठमाडौं, भाद्र १९ - त्रिभुवन विमानस्थलमा बिहीबार करिब पाँच बजे ढाकाबाट काठमाडौं आएको विमान
बंगलादेशमा चिल छिर्‍यो । उडिरहेका चिल जहाजको अग्रभागमा रहेको चुचोमा ठोक्किएर प्वाल पार्दै भित्र छिरेको थियो । चालक दलका सदस्यहरू बस्ने ककपिटमै रगतपच्छे भएर छिरेको चिलका कारण पाइलटसमेत केही समय अत्तालिए ।
बाहिर बाक्लो बादल लागेर सिमसिम पानी परिरहेको थियो । 'अवतरण भएका बेला परेकाले जहाज नियन्त्रणमा लिन चालक दलका सदस्यहरू सफल भए, उड्दाको बखत भए ठूला क्षति हुन सक्थ्यो,' जहाज नियन्त्रण कक्षका एक अधिकारीले भने ।
जहाजको चुचोमा ठूलो प्वाल परेका कारण विमान बंगलादेशको जहाज काठमाडौंमै थन्किएको (ग्राउन्डेड) छ । जहाजमा परेको प्वाल टाल्न प्राविधिक टोली शुक्रबार काठमाडौं आउने कार्यक्रम छ । हाल प्वाललाई प्लास्टिकले छोपी जहाजलाई रनवे नजिकैको पार्किङमा राखिएको छ ।
जहाजमा चरा ठोक्किएको घटनाबारे २४ घन्टा बितिसक्दा पनि त्यसबारे नागरिक उड्डयन प्राधिकरण मातहत विमानस्थलमा रहेको हवाई उड्डयन विभागका सुरक्षा प्रमुख विनोद गिरीलाई त्यसबारे केही थाहा छैन । कान्तिपुरले जिज्ञासा राखेपछि छक्क पर्दै गिरीले भने, 'लौ अहिलेसम्म मलाई त्यसबारे थाहा छैन, उड्डयन कार्यालयले पनि कुनै सूचना दिएको छैन ।'
चिलको तौल बढी हुने भएकाले जहाजको जुनसुकै स्थानमा सीधै ठोक्किए भित्रै छिर्न सक्ने गिरी बताउँछन् । यसअघि पनि त्रिभुवन विमानस्थलमा यस्ता घटना भएको उनले बताए ।  
काठमाडौंमा उत्रेलगत्तै यात्रु लिएर र्फकनुपर्ने जहाज ग्राउन्डेड भएपछि बोडिङकार्ड लिएर अध्यागमन पार गरिसकेका यात्रु पनि जान पाएनन् । जहाज नउड्ने भएपछि यात्रुलाई बानेश्वरको एभरेस्ट र कमलपोखरीको कमल होटलमा राखिएको छ । 'राजधानीका सडकमा थुपि्रएको फोहोर नउठाइनु र विमानस्थल आसपास क्षेत्रमा व्यापक रूपमा मासुको व्यापार र काटमार हुने गरेकाले यस्तो दुर्घटना पटक-पटक हुने गरेको हो,' विभागका उपनिर्देशक देवचन्द्रलाल कर्ण भन्छन्, 'सहरमा कैयौं दिनसम्म मरेका पशु नउठाइनु, विमानस्थल आसपासका क्षेत्रमा सेकुवा पसल र बेवारिसे स्थानमा हड्डीजन्य पदार्थ फ्याँक्नाले चिल आहाराको खोजीमा विमानस्थल वरिपरि घुमिरहने गर्छन् ।'
यसअघि पनि राजधानीको फोहोर नउठेकै अवस्थामा विमानस्थलमा चराहरू जहाजमा ठोक्किएका थिए । कर्णका अनुसार विमानस्थलमा जहाज उड्दा र बस्दा चराहरूले अवरोध पुर्‍याए त्यसलाई नियन्त्रण गर्न विभिन्न प्रविधिसहितका दर्जनांै उपाय छन् । त्यस्ता सबै प्रविधि विमानस्थल प्रशासनको लापरबाहीका कारण हाल थन्क्याइएको छ ।

source:kantipur