काठमाडौं, भाद्र २२ - राष्ट्रपति रामवरण यादवले आफ्नो
सवारीका कारण सर्वसाधरणलाई दुख नहोस भनी गरेको वाचा तोडन थालेका छन् ।
कार्यालय समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेको समयमा राष्ट्रपति यादवले कुनै पनि कार्यक्रममा सरिक नहुने प्रतिबद्धता व्यक्त गरेका थिए । आम जनसमुदायको असुविधालाई ध्यानमा राखी प्रतिबद्धता व्यक्त गर्दा राष्ट्रपति यादवप्रति देश विदेशबाट धन्यवाद व्यक्त प्राप्त भएको थियो ।
तर प्रतिबद्धता व्यक्त गरेका दुई महिना वित्न नपाउदै राष्ट्रपति यादव दैनिक जस्तै औपचारिक समारोहका नाममा कार्यालय समयमा निस्कन थालेका छन् ।
राष्ट्रपति यादव सोमबार बिहान १० बजे नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पताल निरीक्षणका लागी गएका थिए भने मंगलबार पाँच बजे भारतिय राजदुतावासले आयोजना गरेको कवि गोष्ठीमा सहभागी हुन कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।
छाउनीस्थित सैनिक अस्पताल जाने क्रममा चक्रपथमा गुडने ठूला सार्वजनिक सवारीका साधनलाई ट्राफिकले बिहानभरी रोक्न वाध्य भएको थियो । त्यस्तै कमलादीमा सवारी हुने क्रममा माहाराजगञ्जबाट लाजिम्पाट हुँदै जमल तर्फ आउने सबै ठूला सार्वजनिक सवारीका साधनलाई रोकिएका थिए ।
छाउनीमा सवारी हुने क्रममा बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म ६ घन्टा चारै सुरक्षा निकायका चार सय भन्दा बढी सुरक्षाकर्मीहरु सडकमा तैनाथ देखिन्थे । त्यस्तै बुधवार सित्तल निवासबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने सवारीको सुरक्षाका लागी झण्डै साढे तीनसय सुरक्षाकर्मीहरु सडकमा परिचालित थिए ।
मिनेटमा १५ देखि २० वटा गाडीहरु गुडने केशरमहल, दरवारमार्ग, लाजिम्पाट, माहाराजगञ्ज, सिता पाइला क्षेत्रमा सवारीका नाममा आघा घन्टा मात्रै बाटो अवरोध हुँदा त्यसको असर घन्टौसम्म पर्ने गर्छ ।
'कार्यालय समयमै राष्ट्रपतिको सवारी हुन थालेपछि हामी हैरान हुन थालेका छौ ।' महानगरीय ट्राफिक महाशाखाका एक अधिकृतले भने छाउनीस्थित सैनिक अस्पतालको निरिक्षण कार्यक्रम बिहान ८ या दिउँसो १२ बजेदेखि गर्न सकिन्थ्यो, किन कार्यालय समयमा पारिएको हो, बुझ्न सकिएन । सवारी व्यवस्थापनकै जिम्मेवारी पाएका अर्का एक अधिकृत भन्छन्-'प्रज्ञा प्रतिष्ठानमा भारतिय दुतावासले आयोजना गरेको कार्यक्रम सर्वसाधरणलाई दुख हुने गरी कार्यालय समयमै राष्ट्रपति पुग्नै पर्नेस्तरको थिएन ।'
राष्ट्रपतिको सवारी व्यवस्थापनका लागी अन्य क्षेत्रका अधिकांश ट्राफिक इन्चार्जहरु पनि ट्राफिक महाशाखाको निर्देशनमा सवारी रुटमै खटिएका देखिन्थे । अन्य क्षेत्रका इन्चार्ज सवारी रुटमा खटिएपछि उपत्यका भरीकै ट्राफिक आवागमन प्रभावित हुने गरेको छ ।
source:kantipur