काठमाडौं, असोज ९ - नेपाली कङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले माधवकुमार नेपाललाई हटाएर झलनाथ खनाललाई प्रधान मन्त्री बनाउनका
लागि कङ्ग्रेसले उम्मेद्वारी फिर्ता नलिने बताएका छन्। उनले एमाले–माओवादी सहमतिलाई नक्कली घ्यु र तरवार किनबेचको सङ्ज्ञा पनि दिए।
अपाङ्ग समाज नेपालले वर्तमान गतिरोध अन्त्यका लागि अपाङ्ग क्षेत्रबाट दलहरुलाई आह्वान गर्न आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा घिमिरेले कङ्ग्रेसको उमेदवारी फिर्ता गराउन माओवादीले सेना समायोजन, वाइसिएलको अर्धसैनिक संरचनाको अन्त्य, कब्जा सम्पत्ति फिर्ता र पूर्व सहमति कार्यान्वयन गर्नुपर्ने बताए।
उनले माओवादी-एमालेको सहमतिले अन्तरिम संविधानलाई प्रभावित पार्दै सभामुखलाई जङ्गबहादुर बनाउने दाबी पनि गरे। घिमिरेले नेपाली कङ्ग्रेस प्रतिपक्षमा बस्न तयार रहेको भन्दै एमाले र माओवादी मिलेर सरकार बनाए हुनेसमेत बताए।
सोही कार्यक्रममा एमाले प्रमुख सचेतक भीम आचार्यले एमाले– माओवादी सहमति राष्ट्रिय सहमतिका लागिमात्र भएको दाबी गरेका थिए।
कार्यक्रममा माओवादीका नेता देव गुरुङले सहमतिकै लागि माओवादीले प्रधान मन्त्रीको उमेद्वारी फिर्ता लिएको दाबी गरेका थिए।
source:nagarik