रुकुम, असोज १- आफ्नै आमाले जन्माएको छोरा आमाभन्दा एक वर्षले उमेर पाको भन्दा धेरैलाई पत्यार
नलाग्न सक्छ। रुकुम पोखरा गाविस-४ की आमा देउसरी खड्का उनको माइला छोरा पिमबहादुरभन्दा झन्डै एक वर्षले कान्छी रहने गरी नागरिकताको प्रमाणपत्र वितरण भएको छ।
देउसरीले विसं २०४४ फागुन २७ गते राष्ट्रिय नागरिकता टोली नम्बर (४) मार्फत बाबु द्रबे खड्का र पति अनन्ते खड्काको नामबाट वंशजको आधारमा नागरिकता लिएका थिए।
विसं १९९१ सालमा जन्मिएकी देउसरीको नागरिकतामा जन्मिएको मितिभन्दा २९ वर्षपछि अर्थात २०२० साल जन्ममिति राखिएको छ। यो जन्म मितिको आधारमा उनी हाल ४७ वर्षमात्र पुग्छिन्। तर कान्छा छोरा आमाभन्दा एक वर्षले जेठा भएका छन्। उनको उमेर ४६ वर्ष पुगिसकेको छ।
आमाको नागरिकतालाई हेर्दा कान्छा छोरा भद्रबहादुर आमाभन्दा दुई वर्षले मात्रै कम उमेरको देखिन्छ। भद्रबहादुर २०२२ कात्तिक १९ मा जन्मिएका हुन्।
आफ्नो वास्तविक उमेरको हिसाबले ७४ वर्ष पुगिसकेकी देउसरी विधुवा पनि हुन्। तर यही नागरिकतामा उल्लेख गरिएको गलत उमेरको कारण विधुवा भत्ता र जेष्ठ नागरिकले पाउने भत्ताबाट वञ्चित हुनु परेकामा उनी दुःखेसो पोख्छिन्।
उनी भन्छिन्- 'मेरो उमेरले चार-पाँचपटक भत्ता खाइसके तर मैले यही जन्ममितिकै कारण भत्ता पाएकी छैन।' उनले अगाडि थपिन्- 'पढे-लेखेको भए उतिबेलै नागरिकता हेरेर सच्याउन हुन्थ्यो।
यसबारेमा कानुनी प्रक्रियामा गइसकेको जन्ममितिलाई अहिले सच्याउन नमिल्ने बताउँदै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी भन्नुहुन्छ- 'नागरिकताकै आधारमा उहाँलाई वृद्ध तथा विधवा भत्ता दिलाउन सकिएको छैन।
source:nagarik