असोज १३ नागरिक - माओवादी, कङ्ग्रेस र एमाले राजावादी बनेको आरोपसहित मधेसी जनताको अधिकार
सुनिश्चित गर्ने दाबी गर्दै नयाँ पार्टी बनेको घोषणा गरिएको छ। पार्टी गठन गर्नेले ठूला दलले मधेसी जनताको उपेक्षा गरेको आरोप पनि लगाएका छन्।
उनीहरुले रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन। जसअनुसार अमर यादवको संयोजकत्वमा गठित मधेस तराई फोरम पार्टी गठन भएको छ।
पत्रकार सम्मेलनमा पार्टीको हालै बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय भन्दै त्यो पनि सार्वजनिक गरिएको थियो। फोरम पार्टीका केन्द्रीय अध्यक्ष अमर यादवले एमाले, माओवादी र कङ्ग्रेसले राजतन्त्र स्थापित गर्न लागेको र मधेशी जनतालाई उपेक्षा गरेको हुनाले पार्टी खोलेको बताउँदै भने- हामी ६०१ सभासद्को भण्डाफोर गर्छौं। उनले आफूहरुले धोती र कमिज लगाउने राष्ट्रपति खोजेको भन्दै दौरा सुरुवाल र टोपी लगाउने राजा नखोजेको दाबी पनि गरेका थिए।
यादवले राज्यले मधेशी मूलका जनतालाई हदैसम्मको उपेक्षा गरेकाले मधेश तराई फोरम पार्टी विशुद्ध तराईका निमुखा जनतालाई आफ्नो हक अधिकार दिलाउन
खोलिएको प्रष्ट पारे। अहिले स्थापित लोकतान्त्रिक गणतन्त्र नाममात्रको भएको भन्दै उनीहरुले मधेशी जनताको हक अधिकारका लागि नयाँ जनविद्रोह गरी छुट्टै राज्य बनाउने लक्ष्य रहेकोसमेत बताएका थिए।
source:nagarik