काठमाडौं, असोज १३ - डेनमार्कले नयाँ मतदाता नामावली दर्ता प्रणाली कार्यन्वयनका लागि नेपाललाई २१ लाख अमेरिकी डलर
(झण्डै १५ करोड ३३ लाख रुपैयाँ) उपलब्ध गराउने भएको छ। नेपाललाई उक्त रकम उपलब्ध गराउने सम्बन्धमा निर्वाचन आयोग, काठमाडौंस्थित डेनमार्क दूतावास र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) बीच बुधबार एक सहमति पत्रमा हस्ताक्षर भएको छ।
निर्वाचन आयोग र दातृ निकायबीच समन्वयकर्ताको रूपमा यूएनडिपीले आफ्नो निर्वाचन सहायता परियोजना मार्फत उक्त रकम नेपाललाई उपलब्ध गराउने छ।
मतदाता पत्रलाई बढि विश्वानिय बनाउन निर्वाचन आयोगले आधुनिक मतदाता नामावली दर्ता प्रणाली सञ्चालन गरेको छ। नयाँ प्रणाली अनुसार योग्य नेपाली नागरिकको फोटो, औंठा छाप र हस्ताक्षर डिजिटल रूपमा लिई मतदाता नामावली तयार पारिएको छ।
...पहिले भएका त्रुटी हटाई मतदाता नामावालीलाई बढि विश्वानिय, वास्तविक र स्पष्ट बनाउन नयाँ प्रणालीले महत्वपूर्ण भुमिका खेल्ने छ,' हस्ताक्षर समारोहमा निर्वाचन आयोगका कार्यवहाक प्रमुख निलकण्ठ उप्रेतीले बताए।
बिगत १९ वर्षदेखि निर्वाचन आयोगलाई डेनमार्क सरकारले सहयोग गर्दै आएको स्मरण गर्दै नेपालका लागि डेनमार्कका राजदूत मोर्टेन जेसपरसेनले नयाँ सहयोगलाई त्यसैको निरन्तरता भएको समारोहमा बताए।
फोटो, हस्ताक्षर र औठाछाप सहितको मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले अँगालेको नयाँ दर्ता प्रणालीबाट नेपाल सरकारलाई धेरै फाइदा हुने धारणा नेपालका लागि यूनडिपीका निर्देशक एन्नी इसाबेल्लीको थियो। उनले थपिन्, 'नयाँ प्रणालीले निर्वाचनका दिन मतदाताको सही पहिचान गर्न त सकिन्छ नै, साथसाथै नक्कली दर्ता पनि पक्ता लगाउन सकिन्छ। यसले निर्वाचनको विश्वासनियता बढाउँछ।'
निर्वाचन आयोगले पहिलो चरणमा ४३ जिल्लाका ५८ वटा नगरपालिकामा नयाँ प्रणालीद्धारा मतदाता नामावली संकलन कार्य प्रारम्भ गरिसकेको छ। यसको लागि निर्वाचन आयोगले ७ सय ९८ मतदाता नामावली दर्ता केन्द्रमा काम गरिरहेको छ। तिन चरणमा गरी मतदाता नामावली दर्ता कार्यक्रम सन् २०११ को अगस्ट सम्पन्न गरिसक्ने लक्ष्य निर्वाचन आयोगको छ।
source:nagarik