काठमाडौं, भाद्र २० - प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ भयो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बहुमत पुर्याएनन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट आइतबारमात्र अलग भएको मधेसी जनअधिकार फोरम प्रधानमन्त्री निर्वाचनमा सहभागी भएन । फोरमको बैठक 'संविधानसभामै निर्णय गर्ने' भन्दै सकिएको थियो ।
आइतबारको निर्वाचनमा पनि एमाले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध फोरम लोकतान्त्रिक, तमलोपा र सद्भावना, नेकपा माले, नेकपा संयुक्त लगायतका दल तटस्थ बसे ।
कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरेसम्म मतदानको प्रक्रिया दोहोरिँदै जाने संसद् नियमावलीको व्यवस्थाअनुसार आइतबार छैटौं पटक पनि दाहाल र पौडेलबीच प्रतिस्पर्धा भएको हो ।
source:kantipur