काठमाडौ, भाद्र २० - चिनियाँ राजदूतले नेपाली मिडियाका प्रमुख सम्पादकहरूसँग बेलाबखत बालुवाटारको एक घरमा
अनौपचारिक अन्तक्रिर्या गर्ने गर्छन् । शुक्रबार साँझ पनि करिब एक दर्जन सम्पादकहरूसँग उनी खुलेर कुराकानी गर्दैथिए, त्यहीं अर्को मित्रराष्ट्रका एक वरिष्ठ कूटनीतिज्ञको फोन आयो । उनको भनाइ थियो- एउटा टेलिफोन टेप छ, छाप्न सक्नु हुन्छ ?
के हो भनी सोध्दा सहकर्मी सम्पादक अखिलेश उपाध्यायलाई उनले यतिमात्र भने- सुनेपछि थाहा पाइहाल्छौ ।
कान्तिपुर, काठमान्डु पोस्ट र कान्तिपुर टेलिभिजनका हामी तीनैजना सम्पादक संयोगले त्यहाँ सँगै थियौं । सूचना अरू स्रोतबाट आउन थाले । माओवादी नेता कृष्णबहादुर महराले चिनियाँ भनिएका कसैसँग ५० करोड रुपैयाँ मागेको टेलिफोन टेप रहेछ । तर ती 'चिनियाँ' को हुन् ? कुन-कुन फोन नम्बरमा कुराकानी भएको हो ? त्यो रेकर्ड कसरी भयो ? प्रस्ट थिएन । सोध्नेको चासो यतिमात्र थियो- आजै छाप्न सकिन्छ कि सकिन्न ?
एउटा छिमेकीलाई जोडेर अर्कोबाट आएको अपुष्ट सूचनालाई कसरी पत्याइहाल्ने ? हामीले टेप सुनेर, बुझेर भरपर्दो लागेमात्र छाप्न सक्ने निधो गर्यौं । तर प्रस्तावक यो 'झन्झट' बेहोर्ने पक्षमा थिएनन्, उनी जसरी पनि तत्कालै त्यसलाई सार्वजनिक गर्न चाहन्थे । त्यसैले विकल्पतिर लागे ।
चिनियाँ राजदूतकै रात्रिभोजमा रहेका अन्य केही सम्पादकहरूको पनि फोन बज्यो । केही क्षणपछि त्यो समाचार एउटा टेलिभिजनमा देखियो । अनि दुइटा प्रकाशन गृहले शनिबार त्यसलाई मुखपृष्ठमा प्राथमिकता दिए ।
काठमाडांैस्थित एक दूतावासबाट वितरित त्यो समाचार सत्य हुन पनि सक्छ, नहुन पनि । हामी सञ्चारकर्मीले स्वतन्त्र खोजबिन नगरी त्यसलाई सार्वजनिक गरिहालेको र चौतर्फी प्रतिक्रियासमेत आइसकेकाले सत्यतथ्य पहिल्याउनु अब सायद निकै जटिल हुनेछ ।
प्रधानमन्त्री निर्वाचनमा फोहोरी खेल चलिरहेका बेला माओवादी आर्थिक लेनदेनमा लागेको सूचना आफैंमा नौलो होइन । माओवादीले आफूलाई पाँच करोडको प्रस्ताव राखेको माले महासचिव सीपी मैनालीले भर्खरै खुलासा गरेका छन् र त्यससम्बन्धी विश्वासिलो खण्डनसमेत आएको छैन । यस्तो पृष्ठभूमिमा माओवादीसँग जोडिएर आएको पैसाको चलखेलसम्बन्धी खबरलाई मिडियाले पत्याउनु अस्वाभाविक होइन ।
तर एउटा विदेशी दूतावासले 'चिनियाँ' सँगको कुराकानी भन्दै चुहाएको सूचनाका आधारमा सिंगो चीनलाई जोडेर प्रस्तुत गर्नु कत्तिको परिपक्वता हो ? भोलि अर्को विदेशीले कुनै भारतीयलाई जोडेर टेप दियो भने हौसिएर पूरै भारतलाई तानेर लेख्ने ? संवेदनशील तर अपुष्ट सूचनालाई छानबिनबिनै हामीले सार्वजनिक गर्न थाल्यौं भने तथ्य खोज्ने हाम्रो दायित्व के हुन्छ ? एउटा विदेशीले अर्कोलाई उत्तेजित पार्न खोज्ने र हामी त्यसको सहज माध्यम बनिदिने हो भने नेपाल-भारतको जटिल भूराजनीतिले 'दुई ढुंगे तरुल' लाई कहाँ पुर्याउला ? टेप प्रकरण यी सबै जिज्ञासाका निम्ति एउटा पाठ हो ।
source:kantipur