काठमाडौ, आश्विन १० - सन्तनेता कृष्णप्रसाद भट्टराईलाई जीवनको उत्तरार्धमा समेत बाल्य र युवाकालको
खानपान रसले छाडेको छैन । जतिसुकै शारीरिक पीडामा समेत ठट्टा गर्ने भट्टराई शनिबार राष्ट्रपति रामवरण यादवसँगको भेटमा समेत रसिक बने । खानपानमा अरुचि र पेट एवं छातीको संक्रमणले अस्पतालमा भर्ना भएका उनलाई 'तपाईंका लागि के पठाउँ ?' भनेर राष्ट्रपतिले सोध्नासाथ एक सेकेन्डमै भट्टराईले तयारी जवाफ फर्काए, 'तात्तातो जिलेवी -जेरी) र डोसा ।'
तुरुन्तै राष्ट्रपति यादवले नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ भरत रावतलाई 'अलिकति जिलेवी खाने अनुमति दिनु हुन्छ कि ?' भन्ने जिज्ञासा राखे । 'मैले आफ्नी श्रीमतीलाई चिल्लो, पिरो कम राखेर किसुनजीका लागि डोसा बनाउन भनिसकेको छु,' रावतले कान्तिपुरसँग भने, 'उहाँले साँझमा बाहिर घुमेर पान खाने अनुमतिसमेत माग्नु भयो ।'
गत वर्ष पनि बिमारले बढ्तै च्यापेर सहज अवस्थामा फर्केका भट्टराईको उमेर गल्दो छ । तैपनि उनी रमाउन र ठट्टा गर्न पछि पर्दैनन् । पोहोरको उनको स्वास्थ्यलाभलाई डा. रावतले 'चमत्कार' भनेका थिए ।
'आधुनिक सहरको होहल्लाबीच जो आफ्नो अन्तरमनको शान्ति कायम राख्दै चिन्तामुक्त र खुसीसाथ हाँस्दै जीवनयापन गर्छन्, उनीहरू दीर्घजीवी हुन्छन्,' उनले भने, 'केही वर्षदेखि उपचार गर्ने क्रममा सम्पर्कमा आउँदा मैले भट्टराईज्यूलाई यस्तै पाएको छु ।'
यसपालि समेत चिकित्सकले भट्टराईलाई आईसीयूमा राख्नुपर्ने ठाने पनि उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । 'यस्तै प्रगति देखिए एक/दुई दिनमा डिस्चार्ज गछौर्ं,' रावतले भने ।
source:kantipur