(काठमाडौं), एकै ठाउँमा बसेर जुनसुकै ठाउँमा कुदिरहेको गाडी होस् वा मोटरसाइकल कहाँ र कति गतिमा छ
भन्ने थाहा पाउन सकिने प्रविधि नेपाली बजारमा भित्रिएको छ।
यो प्रविधिको सहयोगले सम्भावित दुर्घटना अपहरणका घट्ना हराएका बहुमूल्य सामान मोटरसाइकल तथा गाडी पत्ता लगाउन सकिने हुन्छ। जसबाट समयमै थाहा पाउन र निरन्तर जानकारी लिन तथा स्थान पत्ता लगाउन सकिन्छ।
अमला इन्टरनेसलले नेपालका लागि पहिलो पटक ल्याएको जीपीएस ग्लोबल पोजिसनिङ सिस्टम लाई गाडी मोटरसाइकल मान्छे या जनावरलगायतमा पनि प्रयोग गर्न सकिन्छ। विशेष गरेर गाडी र मोटरसाइललाई लक्षित गरेर भित्र्याइएको यो प्रविधि आवश्यकताअनुसार मानिस या जनावरमा पनि प्रयोग गर्न सकिने अमलाका प्रोप्राइटर टोप्ला उक्याबले बताउनुभयो। उहाँले दुई किसिममा पाइने यो प्रविधिमा एचआई-६०२ पस्रनल तथा बाइक ट्रयाकर र एचआई-६०३ गरी ट्रयाकरका लागि प्रयोग गर्न सकिने सानासाना डिभाइस भएको जानकारी दिनुभयो। यी ट्रयाकरहरु एउटा सानो डिभाइस हुन् जहाँ सिमकार्ड लगाएपछि त्यसले काम गर्छ। यी डिभाइसमा इच्छा र आवश्यकताअनुसार नमस्ते अथवा एनसेल जुनसुकै सिम पनि राख्न सकिन्छ। यो सिमको कभरेज क्षेत्रसम्म यो डिभाइसले काम गर्न सक्ने प्रो. उक्यावले बताउनुभयो। यसका लागि सम्बन्धित सेवाप्रदायक कम्पनीलाई शुल्क तिर्नुपर्छ। यदि डिकोडर भन्ने एउटा अर्को सिस्टम प्रयोगमा गरेमा यो प्रविधि प्रयोग गरेबापत लाइफ टाइम नै केही पनि तिर्नुपर्दैन। तर यसमा इतिहास भने रेकर्ड भएको हुँदैन। यो डिभाइस राखेपछि मोटरसाइकल तथा गाडीको गति र स्थान सोही समयमा प्रत्यक्ष हेर्न सकिन्छ।
एचआई-६०३ गरी भेहिकल ट्रयाकरका लागि विशेष गरेर व्यापारी तथा अफिसहरुलाई लक्षित गरेर ल्याइएको अमलाले जनाएको छ। यो प्रविधिले अफिसको ड्राइभरले एकातिर हुँदा अर्कोतिर छु भनेर ढाँट्ने समस्याबाट यसले मुक्ति दिने अमलाका प्रो. का उक्याबले जानकारी दिनुभयो। यसका साथै व्यापारीहरुले सामान डेलिभरी पिकअपलगायतका काममा कुन गाडी कहाँ छ त्यो हेरेर आफ्नो अनुकूलको गाडीलाई बोलाउन सक्छन्। यो डिभाइसको माध्यमद्वारा घरमै बसेर अथवा ल्यापटप वा मोबाइल जहाँसुकैबाट पनि प्रत्यक्ष गाडी कुदिरहेको स्थान र गति हेर्न सकिन्छ त्यसका लागि इन्टरनेट भने अनिवार्य आवश्यकता हुन्छ। सो डिभाइस राखिएको गाडीको गति बढी छ अथवा प्रतिबन्धित क्षेत्रमा छ भने तुरुन्त कल गरेर सुझाव दिन सकिने जीपीएसका अधिकृत विक्रेता कम्पनी ईजी सर्भिस प्रालिका प्रबन्ध निर्देशक नरेन्द्रबहादुर चन्दले बताउनुभयो। यो डिभाइस प्रयोग गरिएको गाडीभित्र भइरहेको कुराकानी पनि सुन्न सकिने हुनालॆ यदि शंकास्पद अवस्थामा प्रयोग गरेर हुन सक्ने पूर्व दुर्घटनाहरुबाट पनि बच्न सकिने उहाँको भनाइ छ।
त्यसै गरी अर्को मोटरसाइकललाई लक्षित गरेर ल्याइएको डिभाइस एचआई-६०२ जसलाई पस्रनल तथा बाइक ट्रयाकर पनि भनिन्छ। यसले पनि भेहिकल ट्रयाकरजस्तै काम गर्छ। अहिलेको बढ्दो मोटरसाइकल प्रयोगसँगै बढेको दुर्घटनाहरुलाई न्यूनीकरण गर्न यसले सहयोग पुर्याउने ईजीका पबन्ध निर्देशक चन्दको धारणा छ। उहाँको विचारमा यसले आफ्ना बच्चाहरुको बारेमा प्रत्यक्ष जानकारी राख्न सजिलो हुन्छ। चन्द थप्नुहुन्छ अहिलेका युवाहरु धेरै गतिमा कुदाउने गर्छन् र घरमा ढाँटेर कहाँकहाँ जाने पनि गर्छन् यदि यो डिभाइस प्रयोग गरिएमा बच्चाहरुका बारेमा सबै कुरा प्रत्यक्ष थाहा पाउन सकिन्छ।
मानिसमा पनि प्रयोग गर्न सकिने यो प्रविधि आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रयोजनका लागि नेपाल प्रहरीहरुले पनि प्रयोग गरिरहेको अमलाका उक्याबले जानकारी दिनुभयो। यो अन्त्यन्तै सानो डिभाइस भएकाले मानिसमा पनि अन्यमा जस्तै ब्याग अथवा गोजीमा राख्न सकिन्छ। यसले त्यो मानिस कहाँ के गरिरहेको भन्ने प्रत्यक्ष देख्न सकिन्छ भने यसको इतिहास पनि रेकर्ड भएको हुन्छ। सिममा जिरो पैसा हुँदा पनि काम गर्ने यो डिभाइस प्रयोग भएको साधन हराएमा चोरी भएमा वा साधन प्रयोगकर्ता अपहरणमा परेर फ्याँकिएमा अथवा निष्क्रिय पारिएमा तुरुन्त म्यासेज आउँछ। यसो हुँदा पनि अन्तिम स्थान पत्ता लगाउन सकिने हुनाले खोज अनुसन्धान गर्न्र सजिलो हुन्छ।
यो प्रविधिको प्रयोगका लागि १३ हजारदेखि १४ हजार रुपियाँ खर्च गरे पुग्ने बताइएको छ।
source:samacharpatra