काठमाडौं, असोज ५- बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपाली फिल्म निर्माण गर्ने बताएकी छिन्। आफू स्कृप्टको
काममा व्यस्त रहेको उनले नागरिकलाई जानकारी दिइन्। 'हातमा तीन स्कृप्ट छन्। कुन विषयमा बनाउने भन्ने निर्णय गरेकी छैन। 'अध्ययनको क्रममा छु,' उनले भनिन्। पहाड र तराईमा बस्ने नेपालीको नेपालीको कथामा फिल्म बनाउन उनी ईच्छुक छिन्। 'यस्तो विषयको फिल्म अन्तर्राष्ट्रिय फेष्टिभलमा जान सक्छ,' उनलाई विस्वास छ।
उनको अभिनय रहेको फिल्म 'आइ एम' रिलिजको तयारीमा छ। २० बर्षपछि नेपाली फिल्म 'धर्मा'मा देखिन लागेकी मनिषा यो फिल्मप्रति आशावादी छिन्। 'यो फिल्म धेरै युवाको सहभागिता छ। कार्यशैली हेर्देमा मलाई फिल्म राम्रो हुन्छ भन्ने लागेको छ,' उनले भनिन्।
अभिनेता राजेश हमाल र अभिनेत्री मनिषा कोइरालाको सहकार्यका कारण चर्चित फिल्म 'धर्मा'को गीत सार्बजनिक गरिएको छ। राजधानीमा सोमबार आयोजित कार्यक्रममा यो फिल्मका तीन गीत देखाइएको थियो।
यसअघि 'द युगदेखि युगसम्म' निर्देशन गरेका दिपेन्द्र के खनालले 'धर्मा' चर्चित कलाकारसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरे। 'राजेश र मनिषा जस्ता कलाकारलाई सँगै पर्दामा उतार्न पाउनु मेरो सौभाग्य हो,' कार्यक्रममा उनले भने।
फिल्मका निर्माता दुर्गा पोखरेलले नेपाली फिल्म क्षेत्र रमाइलो लागेको बताइन्। 'राजनीतिमा त झगडा मात्रै हुनथ्यो। फिल्ममा मेलमिलापमा काम हुँदो रहेछ,' उनले भनिन्,'अहिले मलाई यो क्षेत्रमा ढिलो प्रवेस गरें भन्ने लागिरहेको छ।' फिल्म 'धर्मा'लाई एक्सन प्रधान बनाउने जमर्को गरेको उनले बताइन्। 'एउटी हाउस वाईफ जागेपछि कतिसम्म उग्र हुन्छिन्, फिल्ममा देख्न पाईनेछ,' उनले भनिन्।
हरि लम्सालको संगीत रहेको यो फिल्लमा राजेशपायल राई र शोभा बञ्जाराको स्वर रहेको छ। यसमा निखिल उप्रेती, रेजिना उप्रेती, संयोग पखरेल र अनु शाहको समेत अभिनय रहेको छ। संञ्जय थापा, निर्माता पोखरेलले फिल्मको गीत लेखेका छन्।
source:nagarik