दक्षिण अफ्रिकी भारतमा आफै शौचालय सफा गर्न तयार :

जोहनसवर्ग, असोज ११- दक्षिण अफ्रिकाका ओलम्पिक प्रमुख गिडोन सामले समस्यामा परेको राष्ट्रमन्डल खेलकुद
सफलताका लागि आफैले शौचालय सफा गर्ने बताएका छन्। प्रतियोगिता अक्टोबर ३ देखि भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ।

'हाम्रा खेलाडीले राष्ट्रमन्डल खेलकुदमा राम्रो प्रदर्शन गर्न नसके उनीहरूसँग कुनै बहाना हुने छैन,' दक्षिण अफ्रिकी खेलकुद कन्फेडेरेसन र ओलम्पिक कमिटी अध्यक्ष सामले आइतबार खेलाडी प्रस्थान गर्नुअघि भने, 'यदि उनीहरू कोठा सफा नगरिएका कारण सन्तुष्ट हुन नसके आफ्नो कपडा फुकालेर आफैले सफा गर्नुपर्छ। हामीले कुनै गुनासो गर्ने छैनौं। दक्षिण अफ्रिकाले त्यसो गर्ने छैन।

'म शुक्रबार त्यहाँ जाँदा शौचालय सफा नभए म आफैले सफा गर्नेछु,' उनले भने।

आयोजकले अन्तिम समयमा सफाइको काम थालेपछि सहभागी केही राष्ट्रले भारत आगमनमा ढिलाइ गरेका छन्। आइतबारसम्म पनि खेलाडीले प्रतियोगिताबाट बाहिरिने क्रम जारी राखेका छन्।

खराब आवास व्यवस्था, निर्माण प्रसंग र सुरक्षा समस्यालाई लिएर भारतको कडा आलोचना भइरहेको अवस्थामा प्रमुख सामले दक्षिण अफ्रिका आयोजकको समर्थनमा हुनु जरुरी भएको बताए।

उनले खेलग्रामको खराब अवस्था, मुख्य स्टेडियमनजिकै पुल भत्किनु र उद्घाटन समारोहको दुई साताअघि पर्यटकमाथि भएको आतंकवादी हमलाका कारण नयाँ दिल्लीको छवि खराब भएको अवस्थामा पनि आयोजकको आलोचना गरेकोमा पहिलो विश्वका राष्ट्रको पनि विरोध गरे।

आइतबार मात्र खेलग्राममा ५० केजीभन्दा बढी तौलका भारतीय बक्सर अखिल कुमारको पलङ भाँच्चिएको थियो।

सामले भने, 'विकासशील देशका भएका कारण हामीले एकअर्काको सहयोग गर्नुपर्छ। फिफा विश्वकपअघि पनि हामीले यी राष्ट्रबाट यस्तै समस्या भोगेका थियौं र मैले उनीहरूको उल्लेख गर्ने छैन, किनभने ती को हुन भन्ने हामीलाई थाहा छ।' 'दक्षिणी अफ्रिकीका रूपमा हामीले सधैं आफ्ना साथीहरूको समर्थन गरेका छौं। अन्तर्राष्ट्रियस्तरमा भारत र ब्राजिल हाम्रा सबैभन्दा नजिकका साथी हुन्।'

'हामी पनि यस किसिमको प्रतियोगिताको आयोजना गर्न चाहन्छौं। र इङ्ल्यान्ड, क्यानडा एवम् अस्ट्रेलियाजस्ता देशले मात्र यसको आयोजना गर्न पाउनु न्यायसंगत हुँदैन,' उनको तर्क थियो।

source:nagarik