दरबारलाई दूध दिने गाई लिलाममा बिक्री :

दोलखा, ११ असोज - नारायणहिटी दरबारबाट जिरी ल्याईएका गाईहरु लिलाममा बिक्री गरिने भएको छ। राज परिवारको नारायणहिटी दरबारबाट
बर्हिगमन पछि जिरी स्थित पशुविकास फर्ममा ल्याईएका त्यहाँका गाईहरु फर्मले लिलाममा बिक्री गर्न लागेको हो।
जिरी ल्याईएका गाईहरुले दुध दिन छाडेको र केही गाईहरु मरेका कारण फर्मलाई घाटा लाग्न थालेपछि जिरी स्थित पशुविकास फर्मले आगामी शुक्रबार लिलाममा बिक्री गर्न सुचना निकालिसकेको छ।

गत असार ४ गते नारायणहिटी पशु विकास फर्ममा रहेको ३४ वटा गाई पशु उत्पादन निर्देशनालयले जिरी पशु विकास फर्ममा पठाएको थियो। दरबारबाट ल्याईएका ३४ गाई मध्ये ११ वटा जिरी ल्याएको दुई हप्ता पछि मरेका थिए। नारायणहिटी भित्रको मौसम र जिरीको मौसममा फरक परेकाले बेसि नामक किर्नाबाट ति गाईहरु मरेको फार्मले जनाएको छ।

हाल जिरी पशु फार्ममा नारायणहिटी दरबारलाई लामो समयसम्म दुध खुवाएका २३ वटा गाई छन्। दरबारबाट ल्याईएका गाईका साथमा फार्मले आफैसगँ रहेका सहित १५ वटा गाईहरु बिक्री गर्न लागेको हो। "दरबारबाट ल्याईएका ३४ वटा ब्राउन स्विस क्रस र होल्स्टेन जातका गाईमध्ये केहीले फार्मलाई घाटा लगाएपछि लिलाम बिक्री गर्न लागेको हौँ" फर्मका निमित्त प्रमुख टंक श्रेष्ठले भने।

दरबारबाट ल्याईएका गाईहरु बुढो भएको थुन समेत खराब देखिएको र दुध नआउने र कम दिने समस्या देखिएपछि फार्म गाईहरु लिलामिमा बिक्री गर्ने निर्णयमा पुगेको हो। श्रेष्ठका अनुसार दरबारका गाईहरु मध्ये एउटा ब्याउने अवस्थामा छ भने अन्य गाईहरु सामन्य छन्।

फार्मले आगामी शुक्रबार दिउसो तिन बजे सम्म लिलाम बिक्री गर्ने सुचना निकालेको छ। २०२० सालमा खुलेको फार्ममा हाल ६७ वटा गाई छन्। फार्मले दैनिक १७० लिटर दुध उत्पादन गर्दै आएको छ। फार्मबाट उत्पादित दुध कार्यालयले जिरी कृषी बहुद्धेश्वरी सहकारी संस्थामार्फत बिक्री गर्दै आएको छ। यहाँ पालिएका गाईबाट उत्पादित दुध जिरीबासीले २७ रुपैँया प्रतिलिटरमा खरिद गर्ने गर्छन्।

source:nagarik