जागिर खोज्दै हुनुहुन्छ? नाम टिपाइहाल्नोस् :

काठमाडौं, असोज ४ - तपाईंसँग कुनै सीप छ तर काम पाइरहनुभएको छैन भने चिन्ता नलिनुस्। तपाईंलाई सिधै काम दिन
नसकेपछि सूचीकृत गरेर काम पाउने वातावरण बनाइदिने सूचना प्रविधिमा काम गर्ने संस्थाहरु अहिले आइसकेका छन्।

'आफूसँग भएको सीपको विवरण लेखेर हामीलाई जानकारी दिएमा हामीसूचीकृत गर्छौं,' व्यक्तिगत विवरण संकलन गरिरहेको मिडास टेक्नोलोजीका प्रबन्ध निर्देशक छत्रहरि कार्कीले भने। मिडासले बिभिन्न क्षेत्रमा सीप भएका व्यक्तिहरुको सूची तयार गरिरहेको छ।

ट्युसन पढाउने शिक्षकदेखि लिएर कपाल काट्ने नाई, विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका डाक्टरहरु सूचीकृत भइसकेको कार्कीले बताए। प्लम्बर, सिकर्मी, डकर्मीहरु समेत अहिले सूचीकृत भैसकेका छन्।

'अहिले सबैभन्दा बढी बेरोजगार विद्यार्थीहरु देखिएका छन्, उनीहरुले घरघरमा गएर ट्युसन पढाएर रोजगारी पाउन सक्छन्,' कार्कीले भने। यसको लागि आफ्नो नाम र आफू बस्ने ठाउँ मोबाइलमा टाइप गरेर ७७०० मा एसएमएस गर्नुपर्छ।

'हाम्रो अफिसमा फोन गरेर पनि आफूसँग भएको सीप टिपाउन सक्छन्,' कार्कीले भने। होम ट्युसनमात्र होइन घरघरमा गएर श्राद्ध, न्वारन गर्ने पुरेतले पनि आफूलाई सूचीकृत गरेर काम पाउन सक्छन्।
मिस्त्री, अमिन र घरमा सहयोगी काम गर्नेहरुले काम पाएका छैनन भने मोबाइल फोनबाट ७७०० मा एसएमएस गरेर आफूलाई सूचीकृत गर्न सक्छन्। 'हामी हातमा कुनै न कुनै सीप भएकालाई सूचीकृत गर्छौ कसैलाई कुनै सेवा आवश्यक परेमा सेवाको प्रकार र कुन ठाउँ हो त्यो लेखेर ७७०० मा एसएमएस गर्दा ती व्यक्तिहरुको नाम अनि सम्पर्क नम्बर मिडासले पठाइदिन्छ,' कार्कीले भने।

काठमाडौंको घरघरमा भाँडाकुडा सफा गर्ने, कपडा धुने मानिसको ठूलो खाँचो हुन्छ। त्यस्तो काम गरेर जीविका चलाइरहेकाहरुले सुरुमा मिडासको निशुल्क सूचीकृत सेवामा गएर आफूलाई दर्ता गर्नुपर्छ। मानिसलाई त्यस्तो सेवा आवश्यक परेर एसएमएस गर्‍यो भने सूचीकृत व्यक्तिहरुको विवरण पाउँछन्।

'हाम्रो लिस्टमा सूचीकृत पुरेतहरु अहिले निकै व्यस्त छन्,' कार्कीले भने। अंग्रेजीमा 'पुजारी' लेखेर एक स्पेस छाडेर आफूलाई सेवा चाहिएको ठाउँ एसएमएस पठाउँदा
त्यस्ता व्यक्तिको नाम र फोन नम्बर प्राप्त हुन्छ।

भारी बोक्ने भरियालाई समेत सूचीकृत गर्ने तयारी मिडासको छ। कसैले त्रिपुरेश्वरमा सामान किन्यो र भरिया चाहिन सक्छ। त्यस्तो समयमा 'पोर्टर' त्रिपुरेश्वर लेखेर एसएमएस गर्दा भरियाको नाम र मोबाइल नम्बर संबन्धित व्यक्तिले पाउन सक्छ।

'एकातिर मानिसलाई काम चाहिएको छ, सम्पर्क माध्यमको अभावले त्यस्तो व्यक्तिहरु काम खोज्दै हिडिरहेको देखिएकोले यो प्रविधि सुरु गरिएको हो,' कार्कीले प्रस्ट्याए। तपाईको हातमा भएको कुनै न कुनै सीप होला। त्यसैले अहिलेनै किन सूचिकृत नहुने?

source:nagarik