पारसका साथीहरुले शुल्क तिरेनन् :

पोखरा, असोज ५- पूर्व युवराज पारस शाहका एक दर्जन विदेशी साथीले
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको भ्रमण गर्दा तिर्नुपर्ने शुल्क तिरेनन्। उनले मुस्ताङका पर्यटकीय स्थलहरुको भ्रमण पनि त्यसैगरी गराएका छन्।

महङ्गो हेलिकोप्टर भाडामा लिएर राजधानीदेखि घुम्न आएको टोलीले मङ्गलबार मुस्ताङको प्रसिद्व धार्मिकस्थल मुक्तिनाथ मन्दिर, भौगोलिक विविधता भएको क्षेत्र मार्फा र जोमसोमको भ्रमण गरेको हो।

स्रोतका अनुसार राजधानीबाट सोमबार फिस्टेल र डाइनेष्टीका दुईवटा हेलिकप्टर लिएर पोखरा आएका पारस शाहसँग १० सिङ्गापुरे नागरिक र दुई नेपाली युवती थिए। विदेशी पर्यटकले संरक्षण क्षेत्रको भ्रमणमा आउँदा काठमाडौ वा पोखराबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ शुल्क तिरेर प्रवेश अनुमति लिनुपर्छ। बिनाअनुमति एक्याप क्षेत्रमा पुगेको भेटिए त्यस्ता पर्यटकबाट प्रतिव्यक्ति दोब्बर दस्तुर अर्थात् ४ हजार रुपैयाँ शुल्क असुल्ने व्यवस्था रहेको एक्यापले जनाएको छ।

जोमसोमस्थित एक्याप चेक पोष्टले पारस शाहसँग आएका कसैले शुल्क नतिरेको जनाएको छ। संरक्षण क्षेत्रमा हेलिकप्टर लैजाँदा प्रत्येक पटक दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था भए पनि टोलीले उक्त शुल्कसमेत नतिरेको एक कर्मचारीले बताए।

'एक दर्जन विदेशी लिएर आएका पारसले कतै शुल्क नतिरी विदेशीलाई समेत घुमाएर लगे', ती कर्मचारीले भने- पूर्व युवराजसँगै आएको देखेपछि कसैले शुल्क उठाउने आँटै गर्न सकेनन्।' उनका अनुसार विगतमा पनि पारसले यसैगरी विदेशीलाई संरक्षण क्षेत्रको भ्रमण गराउने गरेका थिए।

एक्यापका जोमसोमस्थित कर्मचारी किसान केसीले भने पारससँगै दुई नेपाली युवतीमात्र देखेको बताए। उनले पारस शाहसँग नेपाली युवतीमात्र देखेकाले कसैले भ्रमण अनुमतिका लागि शुल्क नतिरेको बताए।

एक्यापका निर्देशक लालप्रसाद गुरुङले कसैको व्यक्तिगत रवाफका भरमा कोही विदेशीले शुल्कमा छुट नपाउने बताए। पारस शाहसँग विदेशी पर्यटक संरक्षण क्षेत्रको भ्रमणमा आएको आफूलाई जानकारी नभएको भन्दै उनले एक्यापले कसैलाई बिनाशुल्क भ्रमण अनुमति दिन नसक्ने जिकिर गरे।

'पारस शाहले विदेशी नागरिकलाई बिनाशुल्क मुस्ताङ भ्रमण गराएको विषयमा भर्खरै थाहा भयो', गुरुङले नागरिकसँग भने- पारस वा अन्य कसैको नामसँग जोडिँदैमा कसैले छुट पाउँदैन, यसबारे म बुझ्छु।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पूर्व युवराज पारस शाह मङ्गलबार १०–१२ विदेशी नागरिकसहित घुम्न आएको पुष्टि गरे। पोखरास्थित फिस्टेल एयरले पनि पारस शाह १० सिङ्गापुरे नागरिकसँगै मुस्ताङको भ्रमणमा आएको बताएको छ। टोलीले प्रतिघण्टा १ हजार ८ सय ८० अमेरिकी डलर भाडामा दुवै हेलिकप्टर काठमाडौंबाट लिएर आएको हो।

source:nagarik