छापा मार्दा ग्यास चुहिएका १२ सय सिलिण्डर फेला :

चितवन, असोज ८- वाणिज्य विभागको टोलीले छापा मार्दा चितवनको एउटा ग्यास कम्पनीमा भल्ब खराब
भएर ग्यास चुहिएका १२ सय सिलिन्डर फेला परेको छ। सिलिन्डरमा रेगुलेटर राखेपछि खुल्ने भल्ब नक्कली र कम असल भएका कारण कारखानामै बिग्रेको विभागका अधिकारीले बताए।

चितवन पर्साको बाबा ग्यास कम्पनीमा त्यस्ता सिलिण्डर फेला परेको विभागका निर्देशक शङ्कर पौडेलले बताए। कारखानाले ती सिलिण्डर भने बजारमा नपठाएर आफ्नै गोदाममा राखेको पौडेलले जानकारी दिए। 'बजारमा नपठाए र कारखानामै राखे पनि त्यो खतरनाक छ। चाँडै व्यवस्थापन गर्न कारखानालाई निर्देशन दिएका छौं'- पोडेलले भने।

विभागको टोलीले शुक्रबारदेखि चितवनका विभिन्न ग्यास उद्योग र थोक बिक्रेताको गोदाममा छापा मार्दै आएको छ। टोली काठमाडौं फर्केपछि पनि जिल्ला घरेलु कार्यालयको संयोजनमा छापा मार्ने काम जारी राख्‍ने पौडेलले बताए। नयाँ खुलेकाबाहेक पुराना सबै ग्यास कम्पनीमा म्याद नाघेका ग्यास सिलिण्डर फेला परेका छन्।

ती सिलिण्डर तुरुन्त नबदले अर्को निरीक्षणमा शील गर्ने चेतावनी हामीले दियौं'- पौडेलले बताए। खाद्यान्नका थोक बिक्रेताका गोदाममा पनि म्याद नाघेको, तौल पूरा नभएको लेवल र मूल्य सूची नटाँसेका वस्तुहरु प्रशस्तै भएको टोलीले पत्ता लगाएको छ। दसैं तिहारको मौकामा अत्यवश्यक वस्तुको स्टक के/कस्तो रहेछ भन्नेबारे पनि टोलीले सोधखोज गरेको छ।

source:nagarik