अखिलको बन्द सत्रमै झडप :

जनकपुर, असोज १८ -अनेरास्ववियूको जनकपुरमा जारी राष्ट्रिय सम्मेलनको बन्द सत्रमा सोमबार साँझ झडप
भएको छ। उम्मेदवारी दर्ता जारी रहेकै बेला बन्द सत्र चलिरहेको कक्ष भित्र दुई पक्षका उम्मेदवार र तिनका समर्थकले शुरु गरेको भड्किलो प्रचार प्रसारको क्रममा झडप भएको अध्यक्ष मण्डलले जनाएको छ।

झडपमा दुई प्रतिनिधि घाइते भएका छन्। घाइते विद्यार्थी प्रतिनिधि जनकपुरकी प्रिया झा र भोजपुरका किशोर राईलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ। तिनीहरुको अवस्था समान्य रहेको अस्पताल स्रोतले जनाएको छ।


बन्द सत्र चलिरहेको कक्ष भित्रै अध्यक्ष पदका उम्मेदवार सोभियत ढकालका समर्थक मतदाताहरुले कोणसभा गरिरहेको बेला अर्को उम्मेदवार माधव ढुंगेलका समर्थकको जुलुस पुगेपछि झडप भएको प्रहरीले बताए। जुलुसका केही उताउला प्रतिनिधिले कुर्सी उचालेर भिडमा फालेपछि विद्युत सर्ट भएको र त्यसपछि भएको भागाभागमा दुई विद्यार्थी घाइते भएको प्रहरी नायव उपरिक्षक जगदिश पोखरेलले बताए। घटना पछि बन्द सत्र हलभित्र दुई सय प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा बनाइएको छ। यस अघि प्रहरीलाई भित्र प्रवेशमा रोक लगाइएको थियो।

source:nagarik