असोज २३- महोत्तरीका कतिपय गाउँमा अहिले नेपाली रुपैयाँ, पैसा चल्दैन। जिल्लाको सीमावर्ती मनहरा,
कट्टी इटहर्वा, कटैया, सिस्ता, सम्सी, पर्सा, एकडारा, बेला, भोलही, पोखरभिन्डालगायतका गाउँमा आर्थिक कारोबार गर्न भारतीय रुपैयाँ प्रयोग हुने गरेको छ भने ती ठाउँमा नेपाली पैसाको लेनदेन हुँदैन। यी गाउँमा किनबेचका सामग्रीको मोलमोलाइसमेत भारुमै हुने गरेको छ।
ती गाउँमा लाग्ने हाटबजार, पसल, शिक्षण संस्था जस्ता आर्थिक कारोबारसँग सम्बन्धित सम्पूर्ण व्यापार व्यवसाय तथा लेनदेनमा केवल भारतीय पैसाको प्रयोग हुने गरेको मनराका रामदिनेश चौधरीले बताए।
त्यस्तै इटहर्वाका सञ्जय मण्डलका अनुसार यहाँका सरकारी जागिरे तथा नेपालका कुना काप्चामा नेपाली पैसा कमाउने व्यक्तिले आफ्नै देशमा नेपाली पैसा चलाउन बट्टा तिर्नुपर्दछ।
बट्टा काट्दा बजारका १६५ रुपैयाँमा १०० मा भारतीय रुपैयाँ मात्र पाइने गरेको र त्यसो नगरिएमा नेपाली पैसा कसैले लिन नमान्ने यथार्थ छ।
ती गाउँमा खरिद बिक्री हुने वस्तुहरूको मोलमोलाईसमेत भारतीय रुपैयाँमै हुने गरेको स्थानीय रवीन्द्र भगतले बताए।
source:nagarik