समयभन्दा पनि मौसमअनुसार फेरिएको छ, दसैंको अनुहार। मौसमअनुसार, किनभने पहिले-पहिले
भदौरे झरी सकिनेबित्तिकै काठमाडौं सहर विस्तारै कुहिरोले छोपिन्थ्यो। बिहान बिहान हुस्सुको हल्का आक्रमण, त्यसपछि विस्तारै-विस्तारै मलीन हुँदै जाने पारिलो घाम। सहरभित्र कहिल्यै गर्मी महसुस गर्नु नपर्ने वातावरणसँगै दसैंको तयारी सुरु हुन्थ्यो। इन्द्रजात्रापछि बिहान सबेरै विभिन्न देवी मन्दिरहरूको परिक्रमा गर्नेहरूले बजाएको गुँला, यँला र मोनी बाजाहरूको मधुर स्वर दसैं आगमनको बलियो संकेत हुन्थ्यो। रीतिरिवाज कट्टर थिएन। तैपनि मानिसहरूमा पितृप्रति शिष्टाचार थियो। त्यसैले सोह्र श्राद्धका पन्ध्र दिन ती बाजा बज्दैनथे।
सोह्र श्राद्धका पन्ध्र दिनपछि, अर्थात् घटस्थापनादेखि ती बाजा फेरि बज्न थाल्थे। प्रेम र उपासनाको पर्वका रूपमा नवरात्रि प्रारम्भ हुन्थ्यो। घटस्थापनाका दिन बागमती र विष्णुमतीबाट सफा बालुवा घर ल्याएर जमरा राख्ने गरिन्थ्यो। विजया दशमीको दिन मान्यजनका हातबाट निधारमा रातो टिका ढल्काएर, नौ दिनसम्म छोपेर उमारिएको जौको बीउ हलक्क बढेर पहेँलो भएका जमरा कानमा लर्काएपछि दसैंले विदा लिन्थ्यो। पहेँलो जमरा लगाउने रहर जन्माउँथ्यो दसैंले, सबैमा। कसका घरको जमरा कति पहेँलो? केटाकेटीहरूबीच एकप्रकारको जमरा 'कम्पिटिसन' नै हुने गर्थ्यो, काठमाडौंमा।
युवा-युवतीका लागि महत्त्वपूर्ण समय हुन्थ्यो, नवरात्रि। नवरात्रि मेलाको अवसर पारेर धेरैले एकअर्काप्रति आफ्नो आकर्षण अभिव्यक्त गर्थे। यस्ता कतिपय आकर्षण प्रेमका रूपमा प्रकट पनि हुन्थ्यो। बिहानै उठेर शक्ति पीठहरूको दर्शनका लागि जाने कार्यक्रम बनाउँथे, टोलटोलका तन्नेरीहरू। रातको अन्तिम प्रहरले विदा लिन नपाउँदै फौजका फौज तन्नेरीहरू नौ दिनसम्म गुह्येश्वरीदेखि शोभा भगवतीसम्मको मन्दिर यात्रामा निस्कन्थे। बाटामा पर्ने देवी मन्दिरहरूको परिक्रमापछि त्यतिबेला काठमाडौंको लोकप्रिय नास्ता 'तात्तातो' जेरी-स्वारी खाएर फर्कन्थे, ती जवान-जवानीहरू। रोमाञ्चका दृष्टिले निकै महत्त्वपूर्ण हुन्थ्यो, नवरात्रि यात्रा। यात्राका क्रममा प्रयोग गरिने उत्ताउला शब्दका आफ्नै परिभाषा र संकेतहरू बन्ने गर्थे।
दसैं आगमनसँगै पूरै नेपाली समाज पैसाको जोगाड र 'सहर गएर' किनमेल गर्ने तयारीमा लाग्थ्यो। काठमाडौं सहर अहिलेको जस्तो फराकिलो पनि थिएन। इक्षुमती (टुकुचा) र विष्णुमतीको सीमानाभित्र समेटिएको थियो, मुख्य सहर काठमाडौं। इक्षुमती र रुद्रमतीको बीचमा रहेको त्यतिखेरको आधुनिक डिल्लीबजारसम्म पनि खाँटी काठमाडौं सहरभित्र पर्दैनथ्यो। धेरै पैसा हुने सहरियाहरू सोह्र श्राद्धअघि नै भारतको पटना र कलकत्ता पुगेर दसैंको मुख्य किनमेल सक्थे। थोरै पैसा हुनेहरू पनि मन फुकाएर खर्च गर्न तम्सिन्थे। सरकारी कर्मचारीहरू किनमेलका लागि पेस्की कुर्थे। पैसा नहुनेहरू फूलपातीको दिनसम्म पनि बजार जाने योजना बनाइरहेका हुन्थे। केटाकेटीहरूका लागि सहर जानु नै पनि दसैंको मुख्य आकर्षणमध्ये एउटा हुन्थ्यो। नयाँ लुगाको आकर्षण त छँदै थियो।
यसबाहेक सहरमा सिनेमा हलहरू थिए। बा-आमा दुवैको मन प्रसन्न रहेछ भने हलमा पसेर सिनेमाको आनन्द लिन पाइन्थ्यो। अन्नपूर्ण मन्दिरसँगैको चोखाछेँ गल्लीमा एकमात्र, त्यसैले चल्तीको, अमृत भण्डार थियो। खुब चल्थ्यो, अमृतको आलुदम दसैंका बेला। स्त्री जातिका लागि बजारको होटलमा खाजा खाने एकमात्र अवसर हुने गर्थ्यो दसैंको किनमेल । किनमेल सकेर आलुदम, लालमोहन र जेरी-स्वारीको खाजापछि विस्तारै लाग्थे मानिसहरू पोका पुन्तरा स्याहार्दै घरतिर। बस र ट्याक्सीको चलन थिएन। त्यसैले जत्था बनाएर हिँड्थे मानिसहरू।
जुद्ध सडकमा कमिज सुरुवालका लागि 'सनफराइज' कपडा र चोलो फरिया, तिलंगा लाइनमा जीरा र जाइफलजस्ता मरमसाला, इन्द्रचोकमा घीउतेल, भोटाहिटीमा जुत्ता र त्यसपछि तमाखु। दसैंको किनमेलका लागि आउने ग्राहकहरूका केटाकेटीका लागि पसल-पसलमा 'फोसा' बाँडन राखिएको बालपोष र शितल पिपलमेन्ट आकर्षणका केन्द्रमा रहने गर्थे। काठमाडौं उपत्यका छेउछाउका पहाडी बस्तीहरूबाट घीउ, अमिलो र अन्य स्थानीय उत्पादन बोकेर आउनेहरू नरदेवीमा भारी बिसाउँथे। दसैंका लागि नुनतेल, लत्ताकपडा र मरमसलाको जोहो गर्थे। शक्ति पीठहरूको दर्शन गर्थे र घर फर्किन्थे। सहर र गाउँका सुजिकारहरूका लागि भ्याइनभ्याइ हुन्थ्यो, कपडा सिलाउन। कतिले मछिन्द्रवहालका साहुहरूकहाँ आइमाइका सेता हुन थालेका कमसल सुनका ढुंग्री र मारवाडीहरू बन्धक राखेर पनि दसैं मनाउँथे। त्यस्तो लगानीको व्याज असुल्न मंसिर लाग्नेबित्तिकै साहुहरू किसानको खलोमै पुग्थे।
विदेशबाट दसैं मनाउन घर फर्किनेहरूको लर्को नेपाली समाजलाई भावनात्मक रूपले एक तुल्याई राख्न सफल थियो। भारत र बेलायतका गोर्खा पल्टनबाट फर्किनेहरूले परिवारमा आशाको सञ्चार गर्थे। उनीहरूले दसैंका बेला ल्याउने पैसाले त्यतिबेलाको ग्रामीण अर्थतन्त्र धानेको पनि थियो। आवश्यकताहरू साह्रै कम थिए। आकांक्षाका बारे त नेपाली समाजले कहिल्यै सोच्दै सोचेन।
अष्टमी हुने गर्थ्यो दसैंको मुख्य आकर्षण। कसको घरमा कति धार्नीको खसी काटियो? कसको घरमा काटिएन? चर्चाको विषय नै यही हुन्थ्यो। शक्तिको प्रतीकका रूपमा मानिने चाड भएकाले दसैंका बेला देवीलाई बलि चढाएर प्रसन्न तुल्याउने मान्यता थियो, नेपाली समाजमा। जो बलि चढाउँदैनथे, ती पनि प्रतिकात्मक रूपमा देवीलाई कुभिण्डो काटेर खुसी तुल्याउन चुक्दैनथे। अष्टमीका दिन काठमाडौंका थुप्रै घरमा कालरात्रि गरिन्थ्यो। त्यसैले, बोकाहरूको व्यापार खुबै चम्किन्थ्यो। नवमीको दिन तलेजु भवानीको दर्शन गर्न मानिसहरूको ओइरो लादथ्यो हनुमान ढोकातिर। त्यही एकदिन मात्र खोल्ने परम्परा छ, तलेजु मन्दिरको।
मासु दसैंको मुख्य आहार हुन्थ्यो। वर्षैभरि मासु खाने मेसो नपर्ने भएकाले दसैंको अष्टमीदेखि कोजाग्रतसम्म लगातार मासु खाने चलन थियो, सहरमा। दसैंका लागि भेंडाच्यांग्रा ल्याउनु सरकारको प्रमुख दायित्व थियो। अहिलेसम्म यो दायित्ववाट कुनै पनि सरकार चुकेका छैनन्।
त्यतिबेलाको दसैं कृषिप्रधान देशका गरिब र धनी दुवैथरि कृषकहरूका लागि वर्षको एउटा पक्ष पूरै मनोरञ्जनमा बिताउने अवसर हुन्थ्यो। ऋण काढेर भए पनि मनाउनैपर्ने बाध्यात्मक अवस्था सिर्जना गर्थ्यो, दसैंले। त्यतिबेलाका पाठ्यपुस्तकमा उखान समावेश गरिएको हुन्थ्यो, 'आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई।' उखान प्रचलितमात्रै होइन, 'पपुलर' पनि थियो।
त्यसपछि काठमाडौको मौसम अचानक बदलियो। मौसमसँगै दसैंको चलनमा पनि परिवर्तन आयो। यो परिवर्तनको पत्तो कसैले पाएन। दसैं ढोल बजाएर आउन छाड्यो। ऋण काढेर दसैं मनाउने चलन नहराए पनि सहरको बढ्दो समृद्धिले त्यो छोपियो। बजारमा ह्वात्तै विविधता देखिन थाल्यो। सुजिकारहरू बेरोजगार भए। रेडिमेड कपडाले बजार टिप्यो। फेसनका नया" परिभाषाहरू स्थापित हुन थाले। फेसनमा मात्रै होइन, आचरण र खानपिनमा पनि परिवर्तन आउन थाल्यो। खसीको मासुको शुद्ध कबाब र गरम मसलाको झोलमा पाक्ने दसैंको मासुको स्वादमा अरू विभिन्न स्वादहरू थपिन थाले। मासुका परिकार र विभिन्न स्वादका ककटेलहरू दसैंको अनिवार्यता बन्यो। काठमाडौं इक्षुमतीबाट पूर्व धेरै परसम्म फैलिन थालिसकेको थियो। वरपरका पातला बस्तीका मानिसहरू धमाधम जग्गा बेचेर सहरको सीमाबाहिर भासिन थालिसकेका थिए। जो भासिएनन्, तिनले आफ्नो पहिचान जोगाउन सकेनन्। घर भएकाहरू गोठमा सरे। गोठमा बस्नेहरू पाखा लागे। बागमती विष्णुमती विरूप भए। उनीहरूको नाममात्रै पवित्र रह्यो।
सहरसँगसँगै दसैंको पनि विस्तार भयो। यो विस्तारमा दसैंका कति मत्त्वपूर्ण पक्षहरू छोपिए। कति नयाँ तत्त्वहरू थपिए।
मौसम तेस्रोपटक फेरि बदलियो। पछिल्लो परिवर्तनले दसैंलाई अझै व्यापकता दियो। दसैं सामान्य नेपालीको खुसी, उत्साह र आशाको चाडमात्रै रहने। यसको रूपान्तरण एउटा ठूलो पर्वका रूपमा भयो। सहरमा यो पाँचतारे पर्वका रूपमा विकसित भयो। विकासको यो प्रभावले गाउँघरमा समेत दसैंको स्वरूप निकै बदलिदियो। हिजोको दसैं सांस्कृतिक थियो भने आजको दसैं व्यावसायिक भएको छ। हिजोको दसैं सपनाको संसारजस्तो सीमित थियो भने आजको दसैं असीमित सपनाको संसार बनेको छ। दसैं बोनान्जामा रमाउन थालेको छ, नेपाली समाज। पाडो किन्दा भैंसी उपहार, एक किन्नुहोस् तीन सित्तै लैजानुहोस्, चाउचाउ खानुहोस्, सुन पाउनुहोस्। जसरी भएपनि रमाउनुहोस्।
दसैं रमझम नै हो। तर, उहिलेको दसैं मानवीय भावनाहरूले ओतप्रोत हुने गर्थ्यो भने अहिलको दसैं इलेक्ट्रोनिक भएको छ। आस्था र भावनालाई पनि मसिन लगाएर जागृत तुल्याउने प्रयत्नमा दसैंको टिका र जमरा 'अनलाइन' आउन थालेको छ। कुन दिनदेखि सहरका डिपार्टमेन्ट स्टोरहरूमा टिका र जमराका प्याकेट किन्न पाइने हो †
source:nagarik