नयाँदिल्ली, आश्विन २५ - नेपालका माओवादीले भारतका माओवादीलाई प्रशिक्षण दिएको आरोप भारतले
लगाएको छ । आफ्नो देशका माओवादी लुकिछिपी नेपाल छिरेर नेपाली माओवादी र अर्न्तराष्ट्रिय आतङ्कवादी संस्था लस्कर-ए-तैयवाबाट प्रशिक्षण लिने गरेको भारत सरकारको दावी छ ।
भारतको केन्द्रिय सरकारले त्यस्तो दाबीसहित भारतका माओवादी प्रभावित राज्यका सरकारहरुलाई पत्र लेखेर सतर्क तुल्याएको हो । दिल्लीबाट प्रकाशित प्रभावशाली पत्रिका इन्डियन एक्सप्रेसले भारत सरकारले पश्चिम बंगाल सरकारलाई लेखेको त्यस्तो पत्रको व्यहोरा सोमबार प्रकाशति गरेको छ ।
भारतीय गृह मन्त्रालयले उग्रबामपन्थी अर्थात माओवादी प्रभावित आठ राज्यका प्रहरी प्रमुखहरु (महानिर्देशकहरु)लाई अघिल्लो साता (अक्टोवर ५)मा त्यस्तो पत्र लेखेको एक्प्रेसले उल्लेख गरेको छ । जुन २८ मा विहारका कमरेड पङ्कजको नेतृत्वका आन्ध्र प्रदेशका पाँच माओवादीहरु मलङ्गवाबाट नेपाल छिरेको भारतीय गृह मन्त्रालयको उक्त पत्रमा उल्लेख छ ।
नेपाल छिरेका ती भारतीय माओवादीहरु नेपाली माओवादीको जनसेनाले पहिल्यै प्रशिक्षण दिइराखेका अरु २५ जनाको टोलीमा सामेल भएको भारतीय गृह मन्त्रालयले दावी गरेको छ । विनोद गुरुङ्, प्रकाश महतो लगायतका नक्सली नेताहरु र लस्कर ए तैयवाका सदश्यहरु कराचीका लतिफ खान र रज्जाक अन्सारीको रेखदेखमा नेपालमा तालिम लिइरहेका दुई सय ३४ माओवादीहरुका बारेमा पनि आफूलाई जानकारी भएको भारतीय गृह मन्त्रालयले उक्त पत्रमा दावी गरेको छ ।
'त्यसबारेमा मलाई थाहा छैन,' नेपालका माओवादीले भारतीय माओवादीलाई प्रशिक्षण दिएकोबारे सोधिएको एक प्रश्नमा पश्चिम बंगाल राज्य सरकारका गृह सचिव जीडी गौतमले एक्स्प्रेससँग भनेका छन्- 'तर पनि हामी र्सतर्क छौं ।'
source:kantipur