पूर्वमन्त्री वाग्लेद्वारा दोस्रो बिहे :

काठमाडौ, आश्विन २५ - लामो समय सत्तामा रहेका प्रभावशाली नेताको बिहे एकदम साधारण र कसैले थाहा
नपाउने गरी भयो भन्दा अचम्म लाग्न सक्छ, त्यो पनि मन्दिरमा । प्रजातन्त्र बहालीपछि पटक- पटक मन्त्री भएका र २० वर्षभन्दा बढी समयदेखि निरन्तर कांग्रेस केन्द्रीय सदस्य रहेका ५८ वर्षे चिरञ्जीवी वाग्लेले शनिबार सुटुक्क बिहे गरे । वाग्लेले राजधानीको कालो पुलस्थित आफ्नो निवासमा हिन्दु धार्मिक परम्पराअनुसार शनिबार अपराह्न दुलही भित्र्याए । उनको दोस्रो बिहे न त उनका इष्टमित्र र सहयोगीले थाहा पाए, न त पार्टीका कोही नेता तथा कार्यकर्ताले नै ।
पारिवारिक स्रोतका अनुसार बिहे यति साधारण थियो कि त्यहाँ न त निम्तालुको भीडभाड थियो, न त गहनागुरिया र लुगाको तडकभडक नै । पहिली पत्नी शान्तिको कलेजोको समस्याले मृत्यु भएको साढे तीन वर्षपछि उनले दाङकी आफूभन्दा १३ वर्ष कान्छी सुशीला न्यौपानेसित बिहे गरेका हुन् । न्यौपाने पहिलो बिहेको एक/डेढ वर्षमै पतिसित सम्बन्ध विच्छेद भएर बसेकी थिइन् ।
वाग्ले र न्यौपानेबीच राजधानीको बूढानीलकण्ठस्थित मन्दिरमा करिब २० जनाको सहभागितामा बिहे भएको जानकारी पारिवारिक स्रोतले दिएको छ । बिहेमा दुलहीपट्टकिा १५/१६ जना र दुलाहापट्टबिाट कान्छा भाइ भोजराज र सहयोगीसमेत तीन जनामात्र सहभागी थिए । 'दाजुका तर्फबाट म, दाइका सहयोगी गोरखा कांग्रेसका कार्यकर्ता ईश्वरी भट्टराई र शिव रेग्मीमात्र थियौं, उताबाट दुलहीका दाजु मोहन न्यौपानेसहित १५/१६ जना सहभागी थिए,' भोजराजले भने ।
'हामीले पहिला नारायणको पूजा गर्‍यौं, दुवैले एकअर्कालाई मालामात्र लगाइदिएर साधारण किसिमले बिहे गर्‍यौं,' बिहेपछि वाग्लेले कान्तिपुरसित भने, 'शान्तिको मृत्यु भएको तीन/चार वर्षको अनुभवमा मलाई एउटा साथी सहयोगी चाहिन्छ भन्ने अनुभूति भइरहेको थियो, सुशीलाका तर्फबाट विवाह गर्न तीन/चार महिनाअगाडि प्रस्ताव आएको थियो । मैले यसबीच सोच्दा ठीकै लाग्यो र तीन/चार दिनअघिमात्र निर्णय गरेर बिहे गरेको हुँ ।'
पारिवारिक स्रोतका अनुसार दाङका कांग्रेस नेता/कार्यकर्ताले नै बिहेको प्रस्ताव ल्याएका हुन् । 'सम्बन्ध विच्छेदले सुशीलाको घरजम हुन पाएको थिएन ।  दाइलाई मन पराउने दाङका कांग्रेसकै मान्छेले प्रस्ताव ल्याएपछि दाइलाई पनि ठीकै लाग्यो र बिहे भयो,' भोजराजले भने ।
वाग्लेका तीन छोरी, एक छोरा, एक नाति र एक नातिनी छन् । कान्छी छोरीको मात्र बिहे हुन बाँकी छ । सुशीलाको भने पहिलो पतिका तर्फबाट सन्तान छैन् । उनी माइतमा बस्दै आएकी थिइन् ।

source:kantipur