काठमाडौ, आश्विन २९ - मध्य दसैंको दिनमा आफूले बिताएका दसैंहरू सम्झनु र
स्मृतिका छालहरूमा पौडनु पनि एउटा सुखद अनुभूति हुँदोरहेछ । आफ्नो किशोरावस्थाका दसैंका दिन र समय कस्ता थिए र यी दिन र समय कस्ता छन् भनेर तुलना गर्नु पनि एउटा आनन्द हो । मनको स्मृति पटलमा विभिन्न रंगहरूद्वारा कोरिएका अनेकौं चित्रका शृंखला छन् दसैंका सन्दर्भमा ।
दसैंलाई अनेकौं सामाजिक, धार्मिक र राजनीतिक विषयसँग जोडेर आ-आफ्नै ढंगले व्याख्या गर्ने प्रयत्न हिजो पनि भएका थिए, आज पनि हुँदैछन् । त्यसैले कोही दसैंलाई हिन्दुको महान् चाड भनेर साँघुरो बनाउन खोज्दैछन् भने कोहीकोही हाम्रो होइन पनि भन्दैछन् ।
दसैंलाई हिन्दुहरूको मात्र चाड भनेर व्याख्या गर्नु दसैंको सन्दर्भ र महत्त्वलाई घटाउन खोज्नु हो । दसैं वास्तवमा नेपालीको साझा चाड हो । उपत्यकामा पुस्तौंदेखि बस्दै आएको परिवारको सदस्यका रूपमा दसैं आफ्ना छिमेकका मगर, तामाङ र गुरुङले मनाएको मैले देखेको छु र तिनमा सामेल पनि भएको छु । नेवारभित्र रहेका हिन्दु र बौद्धमार्गी दुवैको दसैंमा पनि सामेल भएको छु ।
दसैं नेपालीको साझा चाड हो । पूर्वमा जाँदा यसले छुट्टै पूर्वेलीपनसहित आफूलाई उभ्याउँछ भने पश्चिममा पुग्दा छुट्टै नवीनताको अनुभव गराउँछ । उपत्यकाको दसैंको आफ्नैपन छ । सयभन्दा बढी जातजाति र झन्डै त्यति नै संख्यामा भाषा रहेको नेपालीको दसैंमा विभिन्न जातीय विशेषताको सम्मिश्रण छ । तराईको दसैं, पहाडको दसैं, सुदूरपश्चिमको दसैं र उपत्यकामा मनाइने दसैंमा पाइने स्थानीय विशेषता, आफ्नै माटो र संस्कृतिको सुगन्धले यसलाई समृद्ध पारेको छ ।
भारतका हिन्दुहरूले मनाउने 'दसहरा' वा 'विजयादशमी' सँग तुलना गर्दा हाम्रो दसैं नितान्त फरक र आफ्नै विशेषतायुक्त देखिन्छ । नेपालीहरूले दसैंको मुख्य दिन टीकामा जसरी टीका र जमरालाई महत्त्व दिएर त्यसको सामाजिक र सांस्कृतिक विशेषतालाई स्थापित गरेका छन्, त्यसको मानवीय सन्दर्भ र पक्षको आफ्नै सौन्दर्य छ । यो सौन्दर्य हाम्रो बहुजातीय, बहुभाषीय, जातीय र भाषिक संगमको गर्भबाट जन्मेको विशिष्ट नेपाली विशेषतामा आधारित हिमाली छटा बोकेको सौन्दर्य हो । यसको निरन्तरताले हाम्रो सहिष्णु परम्परालाई विस्तारित गर्छ ।
नेपाली दसैं नेपालका जनजातिको जीवनशैलीमा पाइने उदारता, रसिलोपन, निष्पिmक्री, उल्लास र खुलापनले सिँगारिएको छ । पूर्वी पहाडको दसैंमा उँभौली र उँधौलीको सुगन्ध पनि मिसिएको छ । अहिले पनि पूर्वी पहाडका कतिपय जिल्लामा विभिन्न जातका बुढापाकाहरू आफूले मान्दै आएका लिम्बू सुब्बाको हातको टीका लगाउन श्रद्धासहित जान्छन् र आशिक थाप्छन् ।
दसैं अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा संस्कार, शैली र ज्ञान हस्तान्तरण गर्ने एउटा अवसर पनि
हो । लामो समयसम्म भेटघाट नभएकाहरूबीच भेटघाट हुने, अनुभव र अनुभूति साटफेर हुने, सम्बन्ध र आफ्नोपनको नवीकरण हुने एउटा महत्त्वपूर्ण अवसर हो दसैं । दसैंलाई विभिन्न जाति, भाषाभाषी र संस्कृतिका जनताले जसरी आ-आफ्नो विशेषताले समृद्ध पार्दै आएका छन्, त्यसले नै सबैको साझा चाडका रूपमा अझ बलियोसँग स्थापित गर्दै लगिरहेको छ ।
संसारको जुनसुकै कुनामा पुुगेको कुनै पनि जातको नेपाली किन नहोस् यतिबेला आफ्नो सहर वा गाउँघर आउन पाएन भने पनि सम्भव भएसम्म आफू जहाँ छ, त्यहीँ दसैं मनाउने प्रयत्न गर्छ र दसैंलाई सम्झन्छ । दसैंका बेलामा गरिएको भेटघाट र अघिपछि गरिने भेटघाटको तुलना
हुँदैन । दसैंका बेला नेपालीहरूको मनस्थिति नै दसैंमय बनेको हुन्छ । रातो टीका लगाएर कानमा जमरा सिउरेको मान्छे दसैंका बेलामा विश्वको जुनसुकै भूभागमा भेटिए पनि त्यो नेपाली हो भनेर ठम्याउन गाह्रो पर्दैन ।
एक दशक सशस्त्र द्वन्द्वमा फसेको हाम्रो मुलुकमा विभाजन, द्वन्द्व र बेमेलका धेरै कामहरू भए । जातीयता र क्षेत्रीयताको चर्को नारा दिएर राष्ट्रिय एकताका आधारहरूलाई कमजोर पार्ने काम भयो । एउटा जातिलाई अर्को जातिसँग लडाएर राजनीतिक स्वार्थ साध्न सुरु गरिएको जातीय घृणाको अभियानमा अनेकौं रूप र रंगका गैरसरकारी संस्थाहरूले करोडौं-करोड डलर खर्च गरे र अहिले पनि गर्दैछन् । अहिले पनि नेपाली संस्कृति, सहिष्णुता र सहअस्तित्वको परम्परामा आघात पार्न धर्म परिवर्तन र दसैंविरोधी अभियानका लागि करोडौं डलर खर्च भइरहेका छन् ।
त्यसैले यतिबेला हामी नेपालीलाई जोड्ने सांस्कृतिक सूत्रहरूको संरक्षण, संवर्द्धन र विस्तार गर्नैपर्ने भएको छ । हाम्रो दसैं, तिहार, ल्होसार, छठ, उँभौली, उँधौली र माघी आदिको संरक्षण, परिस्कार र व्यापकतामा जोड दिनैपर्छ । उपत्यकाको कला उपत्यकाको जात्रा, पर्व र मौलिक जीवनशैलीसँग गाँसिएर अघि बढेको कुरालाई स्विकार्दै त्यसलाई संरक्षण गर्नुपर्छ । हाम्रा प्रत्येक जातिका चाडपर्वहरू हाम्रा आफ्ना चाडपर्वहरू हुन् । तीमध्ये पनि दसैं यस्तो चाड हो जसले प्रत्येक रूपमा कुनै पनि नेपालीलाई कुनै न कुनै रूपमा स्पर्श गर्छ ।
हामी नेपालीको दसैं धार्मिक ग्रन्थ वा शास्त्रमा वर्णन गरिएजस्तो विजयादशमी वा राम-रावणको युद्धको कथामा सीमित छैन । नेपालीको दसैं नेपालका विभिन्न जाति-जनजातिको माया र स्पर्शले हुर्किंदै, फैलिँदै र मौलाउँदै आएको चाड हो । धरानका बूढासुब्बाको मन्दिरदेखि मगर पुजारीले पूजा गर्ने परम्परा रहेको मनकामनाको मन्दिरमात्र होइन हाम्रा अनेकौं जातजातिका मठ, गुम्बा, मन्दिर र देवीदेवतालाई पनि नेपाली जनताले यतिबेला उत्तिकै श्रद्धाका साथ पुज्दै सहिष्णुता, सहअस्तित्व, सहकार्य र सहजीवनलाई हार्दिकतासाथ अघि बढाइरहेका छन् ।
शास्त्र, धर्मग्रन्थ वा जडतामा रमाउने र रुमल्लिने सिद्धान्तले सधैं जीवनलाई निर्देशित गर्न सक्दैन । जीवनले आफ्ना लागि आफ्नो अनुकूल र समय सुहाउँदो मान्यता आफैंले निर्माण गर्छ । परिस्थिति र समयअनुरूप त्यसलाई नेतृत्व दिन नसक्ने मान्यतालाई जीवनले अस्वीकार गर्छ । दसैंलाई नेपालीले आ-आफ्नो इच्छानुसार, आ-आफ्ना मान्यता र गच्छेअनुसार मान्दै आएका छन् ।
कसैले दसैं मान्दिन भन्छ भने पनि त्यसलाई सहज रूपले हामीले स्वीकार गरेका छौं र गर्नुपर्छ । तर दसैं यस्तो चाड हो जसले मान्दिन भन्नेहरूलाई पनि आफ्नो अस्तित्वबोध गराइरहेको हुन्छ, आफूतिर तानिरहेको हुन्छ ।
दसैंको मुख्य कुरा भनेको आफ्ना मान्यजनहरूको स्पर्श हो । तिनले जमरा र टीका लगाइदिएर शिरमा स्पर्श गर्दै दिने आशिक पे्रम, वात्सल्य, स्नेह र सद्भावको वषर्ा हो, जसले हामी सबैलाई भित्रैदेखि भिजाएर शीतलता प्रदान गर्छ ।
मैले आफ्नो जिजुमुमा, हजुरबुबा, हजुरआमा, बा र आमाको हातको मात्र होइन नेवार, गुरुङ, मगर र लिम्बू जातिका आफूभन्दा पाकाहरूको हातको टीका लगाएर आशिकका रूपमा पटकपटक स्नेह र सद्भाव थापेको छु । आज जिजुमुमा, हजुरबुबा, हजुरआमा र आमा हुनुहुन्न । मैले टीका थाप्ने गरेका विभिन्न जातका पाका व्यक्तिहरू पनि अब यो संसारमा हुनुहुन्न । तर पनि उहाँहरूको आशिक र स्नेहले भरिएका मीठा वाणीहरू कानमै गुन्जिरहेजस्तो लाग्छ । प्रत्येक दसैंमा स्नेहले स्पर्श गर्ने ती हातहरू र मायाले भरिएका आशिकका वाणीहरू स्मृतिमा जीवन्त बन्छन् ।
दसैं एउटा सामाजिक र सांस्कृतिक पर्व हो जसले जीवनमा थोरै भए पनि उमंग, उल्लास र मालश्रीको धुन ल्याउँछ । दसैं नेपालीको संस्कृति, परम्परा, भावना, मर्म, व्यथा र कथाहरू प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण अवसर र पर्व हो । विभिन्न प्रकारका अनुभूति गर्ने र अनेकौं अनुभव संग्रह गर्ने अवसर हो मेरा लागि दसैं । शारदीय मौसमको मगमगाउँदो सुगन्धले मस्त बन्ने, सयपत्री, मखमली र गोदावरी फुलेको हेरेर आनन्दित बन्ने, खेतका फाँट र आलीहरूमा धानका बालासँगै झुलेका प्राकृतिक छटा हेरेर मुग्ध हुने र टीका तथा जमरासँगै सकेसम्म राम्रो लाएर हिँड्ने नेपाली नरनारीको हाँसो र सौन्दर्य हेर्ने, देख्ने अवसर हो दसैं । त्यसैले दसैं तपाईंको, मेरो, उहाँको र सबै नेपालीको । अर्थात् हाम्रो दसैं ।
source:kantipur