असोज २९- धूमपान, मद्यपान र मांसाहाररहित गाउँ। त्यो पनि पुस्तौंदेखि मांसाहार र मद्यपान गर्ने राई र लिम्बूको बस्तीमा। अपत्यारिलो लाग्नसक्छ,
इलामको बाँझोस्थित माङ्सेबुङमा कसैले पनि जाँडरक्सी र मासु खाँदैनन्। चुरोट पनि पिउँदैनन्।
उनीहरूले किराँत धर्म र संस्कृतिका सुधारक तथा प्रचारक गुरु फाल्गुनन्द लिङदेनको विचारलाई पछ्याउँदै गाउँमा धूमपान, मद्यपान र मांसाहार नगरेको बताए। किराँत चोलुङ माङगेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले आत्मानन्द लिङदेन माङसेबुङमा बस्न थालेपछि स्थानीयले धूमपान, मद्यपान र मासु खान छाडेको बताए। आत्मानन्दलाई फाल्गुनन्दको अवतारको रूपमा स्थानीयले विश्वास गर्छन्।
बाँझो गाविस वडा नम्बर ८ र ९ मा फैलिएको माङ्सेबुङमा करिब ५ हजार परिवारको बसोबास छ। त्यहाँ आत्मानन्द लिङदेन २०३४ सालदेखि बस्दै आएका छन्।
आत्मानन्दलाई धर्मगुरु मान्दै नेपालका विभिन्न क्षेत्रबाट राई, लिम्बूहरू माङ्सेबुङ आएर बस्न थालेका हुन्। ‘बाहिरबाट यहाँ आएर बस्नेले पनि स्वतस्फूर्त जाँडरक्सी र मासु खान छाडे,' स्थानीय अमृत सुब्बाले बताए। किराँत मन्दिर संरक्षण समूहले सूचनापाटी नै राखेर बाहिरबाट आउने दर्शनार्थीलाई पनि माङ्सेबुङमा धूमपान, मद्यपान नगर्न र मासु नखान अनुरोध गरेको छ।
सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिहाङ साम्बाले माङ्सेबुङमा कसैले पनि जाँडरक्सी नखानाले आपसमा कहिल्यै झगडा नभएको बताए। उनले जाँडरक्सी, चुरोट, खैनी र मासु नखानाले स्थानीयले कम खर्चमा घरव्यवहार चलाउने गरेको पनि बताए। उनले भने, 'राई, लिम्बूहरूको धेरै खर्च जाँडरक्सी र मासुमै सकिन्छ। तर, ती सबै नखाएपछि स्थानीयले कम खर्चमै घरपरिवार चलाउँछन्। विवाह, मृत्युजस्ता संस्कार पनि कम खर्चमा सकिन्छ।'
माङ्गेना सेवा समितिले त्यस क्षेत्रमा जुवातास, डाइस, क्यारेम बोर्ड, लुँडो र चेस खेल्न प्रतिबन्ध लगाएको छ। 'जुवातास, क्यारेमबोर्ड खेल्ने समयलाई यहाँका युवाले विकास निर्माण र सरसफाइमा उपयोग गर्छन्। युवाकै जनश्रमदानमा माङ्सेबुङ आसपासमा ५ किलोमिटर लामो चक्रपथ निर्माणलगायत थुप्रै काम भएका छन्,' स्थानीय नन्दकुमार नेम्वाङले भने।
source:nagarik