बुहारी काट्ने सासू हिरासतमै झुण्डिइन् :

भक्तपुर, कात्तिक २- बुहारी काटेको अभियोगमा पक्राउ परेकी सासू सीता विकले प्रहरी हिरासतमै
आत्महत्या गरेकी छन्। रामेछाप राकाधुम–७ घर भई लोकन्थली १६ भक्तपुरस्थित आफन्तको घरबाट घटनाको चार दिनपछि पक्राउ परेकी सीता तन्ना च्यातेर झुण्डिएकी थिइन्।

महानगरीय प्रहरी वृत्त थिमीको हिरासतको भेन्टिलेसनको डण्डीमा झुन्डिएर बिहान करिब ६ बजे उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ।

घाँस काट्न गएकी बुहारी मसली विकलाई खुर्पाले शरीरको विभिन्न ठाउँमा हानेर मरणासन्न अवस्थामा पुर्‍याई फरार भएकी सीतालाई लोकन्थलीस्थित आफन्तको घरबाट पक्राउ गर्न ३० गते मसलीका दाजु पदम विकले प्रहरी वृत्त थिमीमा जाहेरी दिएपछि राति नै प्रहरीले उनलाई पक्राउ गरेको थियो।

दसैँको टीकाको दिन ३१ गते रामेछाप प्रहरी कार्यालयमा पठाउन लाग्दा सीताका आफन्त एवम् परिवारले एक दिन नपठाउन आग्रह गरेपछि उनलाई वृत्तमै राखिएको वृत्तकी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक राधिका खड्काले बताइन्।

बिहान दैनिकझैँ झन्डा उठाएर सलामी दिने कार्यक्रममा सबै प्रहरी बाहिर सामेल भएको बेलामा मौका छोपी उनले आत्महत्या गरेको प्रहरीको दाबी छ।

विकको शव पोष्टमार्टमपछि आफन्तले बुझेर दाहसंस्कार गरेका छन्।

घाइते मसलीको भने बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

अस्पतालमा घाइतेको चुडिन लागेको दुबै हात जोडेको छ भने गर्धन, टाउकाको पछाडिको भाग, गाला र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।

तीनसाता अघिदेखि सीताले मानसिक सन्तुलन गुमाएकी उनकी पति रोजबहादुर विकले बताएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले सीताको आत्महत्याबारे अनुसन्धान गरिरहेको बताए।

source:nagarik