तीन नेपाली माओवादी कार्यकर्तामाथि भारतीय प्रहरीद्वारा मुद्दा :


परासी, कार्तिक २ -  भारतमागई भारतीय माओवादीसंग मिलेर विभिन्न गतिविधि गर्दै आएको
आरोपमा नेपाली माओवादी कार्यकर्तामाथि भारतीय प्रहरीले मुद्दा चलाएको छ ।  सिमा सुरक्षा बल -एस.एस.बी)ले पक्राउ गरि भारतको बाल्मिकी नगर प्रहरीले  तीन जना नेपाली माओवादी कार्यकर्ता माथि फौजदारी अभियोगमा मुद्दा चलाएको हो ।    भारतीय माओवादीको पर्चा सहित भारत विहार पश्चिमी चम्पान जिल्ला बाल्मिकीनगर नाकाको भैसालोटनबाट नेपाल र्फकदै गर्दा नवलपरासी पसौनी गाविस ३ बस्ने गाउं स्तरका तीन जना माओवादी कार्यकर्तालाई एसएसबीले पक्राउ गरि भारतीय प्रहरीलाई असोज २८ गते नै बुझाएको हो । पक्राउ पर्नेमा कविन्द्र चौधरी, बलिराम थारु र जितबहादुर चौधरी रहेका छन । उनीहरुलाई भारतीय प्रहरीले फौजदारी कानुनको दफा १७ सि एल बमोजिम मुददा चलाई पुर्वपक्षका लागी थुनामा राख्न वगहा जेल चलान समेत गरिसकेको प्रहरीले जनाएको छ ।
भारतीय माओवादी कार्यकर्ताको पर्चा र मोटरसाईकल सहित पक्राउ पर्ने नेपाली माओवादीले भारतको विभिन्न स्थानमा माओवादी कार्यकर्तालाई सैन्य तालिम दिदै आएको दाबी भारतिय प्रहरीको रहेको छ । प्रहरीले उनीहरुलाई जालझेल गरि  पक्राउ गरि जेल चलान गरेको माओवादी नवलपरासीको भनाई रहेको छ ।
औषधी गराउन गएको बेला उनीहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको चौधरीका परिवारले दाबी गरे । उनीहरुको रिहाईका लागी पहल गरिदिन मानवअधिकार संघसंस्थाहरुसंग आग्रह गरेका छन । राती साढे सात बजे बाल्मिकीनगरको गण्डक ब्यारेज चेकपोष्टमा एसएसबीले चेकजांच गर्ने क्रममा नेपाली माओवादीको परिचयपत्र र भारतीय माओवादीको पर्चा भेटिएकोले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
 source:kantipur