पृथ्वी राजमार्गको एक लेन ध्वस्त :

नागढुंगा, काठमाडौं, कात्तिक ५- राजधानीलाई मुलुकका अन्य भागसँग जोड्ने प्रमुख राजमार्गको
नागढुंगा-नौवीसे-मलेखु खण्डको एउटा लेन 'अधिक भार बोक्ने सवारीका कारण' ध्वस्त भएको छ।
सडकको भारवहन क्षमता १० टन मात्रै भए पनि ट्रक/ट्रिपरले दोव्वर/तेव्वर बोकिरहँदा सरोकारवाला निकायले यसको नियमन गराउन सकेका छैनन्।
भौतिक योजना तथा निर्माण मन्त्रालयका अनुसार नागढुंगा-नौविसेको १६ किलोमिटर मर्मत सम्भारै गर्न नसकिने गरी बिग्रिएको छ।


जथाभावी भार बोकेका सवारी निर्वाध चल्न दिइरहने हो भने पुरै सडक केहि बर्षमा कच्चीमा परिणत हुने प्राविधिकले बताएका छन्। 'नौवीसे-नागढुंगा मर्मत हुँदैन नयाँ बनाउनुपर्छ बाँकि ५० किलोमिटर पुनर्निर्माण गर्न सकिन्छ,' मन्त्रालयका सहसचिव एवं सडक विभागका पूर्व महानिर्देशक तुलसी सिटौलाले भने।

यातायात मन्त्रालय र ट्रफिक प्रहरीलाई पटक-पटक सवारीको अधिक भार रोकिदिन अनुरोध गर्दा पनि कार्यान्वयन नगरिदिएकाले अहिलेको अवस्था आएको आरोप भौतिकले लगाएको छ। 'हामीले दश टन मात्र बोक्न दिनुपर्‍यो भनेर धेरै पटक भन्यौ,' सिटौलाले भने, 'लाइसेन्स दिन व्यस्त यातायातका अधिकारीले हाम्रो अनुरोध कहिल्यै प्राथमिकता दिनुभएन।'

सडक अधिकारीले उही प्रविधि, सामग्रि र ठेकेदारले बनाएको मलेखु तलको सडक जस्ताको तस्तै हुँदा यताको बिग्रनुलाई ढुङ्गा/वालुवा बोक्ने टि्रपरलाई प्रमुख दोषी भनेका छन्। 'सडकको लागि विष मानिएको वीसौ टन चिसो बालुवा बोक्ने टि्रपर त रोक्न सकिएन, कसरी पिच जोगाउन सकिन्छ?' सिटौलाले भने।

जीर्ण भएको साठी किलोमिटर सडकको पुनर्निर्माण गर्न डेढ अर्ब भन्दा बढी खर्च लाग्ने बताउँदै भौतिक मन्त्रालयले सरकारको यत्रो सामर्थ्य नभएको बताएको छ। सिटौलाका अनुसार ठूलो धनराशी खर्च हुने हुँदा जतिसुकै महत्वपूर्ण सडक भए पनि यसको पुनर्निर्माण गर्न सक्ने हैसियत सरकारको छैन।

'एक किलोमिटर बनाउन साढे दुई करोड लाग्छ,' उनले भने, 'मर्मतमै यत्रो बिधि खर्च गर्न सक्ने गच्छे नभएकाले वैदेशिक सहयोग खोजिरहेका छौ।'

भौतिक मन्त्रालयले अधिक भार बोक्ने ट्रकलाई निर्वाध गुड्न दिएको भन्दै यातायात मन्त्रालय र ट्रफिक प्रहरीलाई दोष लगाएको छ। ट्रफिकले भारको जाँच पड्ताल गर्ने काम यातायातको भएको बताएको छ। 'तैपनि पहिला जस्तो छैन, हामीले ढाला काटेर भए पनि टि्रपरको लोड घटाइदिएका छौ,' नागढुंगा ट्राफिक प्रहरी प्रमुख टिकाराम पुरीले भने।
ट्राफिक प्रहरीले उपलव्ध गराएको तथ्याङ्क अनुसार नागढुंगा भएर दैनिक सरदर ३ हजार ५ सय बस/ट्रक/माइक्रो र साना सवारी साधन ओहोरदोहोर गर्छन्। 'मोटरसाइकल र ढुङ्गा, वालुवा ओसार्ने टि्रपर गणना गर्ने हो भने यो संख्या धेरै गुणा हुन्छ,' पुरीले भने, 'यो सडक तुरुन्त पिच गरिएन भने बर्खासम्म ठाउँ ठाउँमा बाटै बग्न सक्छ।'

भौतिकले करोडौ खर्च गरेर सडक बनाउने मनपरि सवारी चलाएर एक/दुई बर्षमै पत्रु बनाइदिने अवस्था नआवस भनि रोगको जड निराकरण नगरि निर्माण गर्न नतात्तिएको बताएको छ। 'जथाभावी गर्नेलाई दण्ड, संजाय गर्ने अधिकार हामीलाई छैन अख्तियारवालाले केहि गरेनन,' सिटौलाले भने, 'कारवाही सुरु नभई सडक बनाएर दिगो हुने देखिएन।'

संसद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिक भारका सवारीले सडकको आयुमा परेको आयुबारे सचेत हुन यातायातलाई पत्र लेखे पनि त्यसको कार्यान्वयन भएको छैन। यातायातले अधिक भारको ट्रकको जाँच पड्ताल गरि रोक लगाएको दावी गरेको छ। 'ओभर लोड रोक्न हामीले थुप्रै काम गरेका छौ,' यातायात मन्त्रालयका सचिव दिनेशहरी अधिकारीले भने। कहाँ कति सवारीलाई कारबाही भयो भन्ने विवरण दिन भने उनले असमर्थता जनाए।


दैनिक घण्टौ जाम :

दसै मानेर फर्केका यात्रु बोकेर आउने गाडी संख्या बढिरहेका बेला बिहीबार अपरान्ह नागढुंगामा तीन घण्टा जाम भयो। काठमाडौं उकालो लाग्दाको बायाँ लेन ध्वस्त भएकाले अलि अलि गरेर खुलेको सडकमा तुरुन्ता तुरुन्तै जाम भइरहन्थ्यो।
पाँचदेखि आधा घन्टामा डेढ किलोमिटरकै दुरीमा उकालो लागिरहेका तीनवटा गाडी सामान्य दुर्घटनामा परेकाले जाम झनै लम्वियो। ट्रफिक प्रहरीलाई ती गाडी किनार लगाएर जाम खोल्न सास्ती रातिसम्मै थियो। तीनैवटा गाडी क्षतविक्षत सडकका कारण बाटैमा थला परेका हुन्।
पोखराबाट आइरहेको ग १ ख ३६१५ को माइक्रोबस ट्रकले बनाएको गहिरो लिक छल्दा छल्दै नालीमा जाकियो। सडकको कुलो छल्न नसक्दा बा ७ च ३०२ को मारुती स्विफ्ट कारको चेसिस सडक बिच बनेको ढिस्कोमा धस्सियो।

ओभर लोड बोकेर आएको ट्रकको अगाडिको पाङ्ग्रामा जोल्ठिङ्गको ओत लागेपछि अघि बढ्न सकेन। ट्रकले एउटा लेन ओगटेपछि केहि घण्टा ट्राफिकले सडक आलोपालो गरि चालु गरे। सडकमा पालैपालो अवरोध भएपछि नागढुंगादेखिके जाम पाँच किलोमिटर टाढासम्म पुगेको थियो।

'आज त खत्री पौवासम्म पुग्यो भोली पर्सीदेखि यो जाम नौवीसे पुग्ने छाँट देखिएको छ,' ट्राफिक प्रमुख पुरीले भने, 'एक लेन बाटो कामै नलाग्ने भएपछि सडकले यत्रो सवारी कसरी थाम्न सक्छ?'

दसै भर्खर सकिएकाले आधासरो ट्रक अझै चलेका छैनन्। सविक जस्तै ट्रक चल्न थालेपछि जाम झनै बढ्ने दावी उनको छ।

'म आएको दुई महिना बिचमै नौविसेसम्मको सडकको अवस्था धेरै नाजुक भएको छ,' उनी भन्छन्, 'हिउँद लागेपछि सवारी बढ्छ त्यसले जाम बढाइहाल्छ।'

ट्रफिक प्रहरी जामको प्रमुख दोष सडकलाई दिन्छन्। 'माइक्रो बस र साना गाडी खाल्डा खुल्डी छल्दा छल्दै कता ठोकिन्छन् कता,' पुरी भन्छन्, 'सकुञ्जेल भारी बोकेर आएको ट्रक सडकको खाल्डामा परेपछि त्यसैलाई उक्लिन सक्दैन।'

अर्को गाडी लगाएर तान्ने, ठेल्ने धकेल्ने सबै काम गर्दा पनि दुईमहिनामा छ दिनबाहेक सबै दिन जाम परेको जानकारी ट्राफिकले दिएको छ। 'दसैको अष्टमीदेखि त्रयोदसीसम्मबाहेक दुई/घण्टा जाम नभएको दिनै छैन।'

राष्ट्रिय राजमार्ग जीर्ण भैसक्दा पनि यसको पुनर्निर्माणमा सरकारले कुनै चासो नदेखाएकोप्रति ट्रफिक प्रहरी अचम्भित छन्।

'यो बाटो नहिंडेका ठूलावडा कोहि छैनन,' पुरी भन्छन्, 'सबैले राम राम भनेर जिब्रो काट्छन् तर कुल्लि बाहेक कोही पनि सडक हेर्न आएको छैन।'

मलेखुसदेखि नौविसेसम्मको एउटा लेन पनि लगभग कच्चिमा परिणत भैसके पनि जामको समस्या छैन। ठाडै उकालो नभएको र सडकको चौडाई नौवीसे-नागढुंगा खण्ड भन्दा बढी भएकाले तलतिर जामको समस्या कम छ। माथिल्लो खण्डमा उकालो भएकाले अधिक भार बोकेको सवारीले सडकलाई नै कुलो जस्तो बनाइदिएको छ।

यात्रा अवधि र खर्च बढ्यो :


'ट्याक्टरलाई मात्र उपयुक्त' :
सडकको दुरावस्थाले यात्रा अवधि लम्विएको मात्र छैन गाडीको संचालन खर्च पनि बढेको छ। नौविसेदेखि कलंकीको यात्रा जाम नपरेको बेला पनि एक घण्टा लम्विएको छ। जाम नपर्दा बढिमा पैतालिस मिनेटमा तय हुने दुरी अहिले लगभग पौने दुई घण्टा लाग्छ।

यतायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एवं मकालु यातायातका संचालक श्रीप्रसाद मैनालीका अनुसार नौवीसे-काठमाडौंको यात्रा अवधि एक घण्टा लम्विएको छ। 'मुलुकको राजधानी जोड्ने मुख्य सडक यस्तो कुरुप हुनु राष्ट्रिय लज्जाको बिषय हो,' उनले भने, 'यसलाई जतिसक्दो चाँडो मर्मत गरियोस।'

सडकको दुरावस्थाले यात्रुको असुविधादेखि गाडी संचालन खर्च बढेको छ। 'स्पि्रङ पत्ता भाच्चिएर हैरान भैसकेका छौ,' उनले भने, 'उकालोमा विस्तार हिड्नुपर्दा तेल र अन्य खर्च पनि बढेको छ।'

नेपालमा सबैभन्दा बढी चल्तीमा रहेको टाटा मोटरको अधिकृत विक्रेताका अनुसार सडकको खाल्डाखुल्डीले नयाँ गाडीमा समेत समस्या आएको छ।

सडक बिग्रेकाले पछिल्लो तीन/चार महिनामा साना ठूला गाडी मर्मतका लागि आउने संख्या बढेको सिप्रदी सर्भिसिङका टेक्निकल इञ्चार्ज रबिन्द्र श्रेष्ठले बताए। 'हाइवेमा पुरै खाल्डाखुल्डी परेकाले साना गाडिको टाइ बार बाङ्गिने र ठूलाको पत्ता भाच्चिने समस्या बढेेको छ,' उनले भने, 'बाटोले गर्दा बिग्रेको मोटर तानेर ल्याउन पनि समस्या भएको छ।' अर्का प्राविधिकका अनुसार नैवीसे-नागढुंगा सडक ट्याक्टरबाहेक कुनै पनि गाडीका लागि उपयुक्त छैन।



'प्रधानमन्त्री कार्यालयलाई झुक्याए ':

प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौडेल गत साल गुल्मीको पुर्ख्यौली घरबाट दसै मानेर फर्केपछि बेल्खुदेखि नागढुंगा सडकको दुरावस्था देखेर अत्तालिए।
सडकको क्षमता भन्दा दोव्वर तेव्वर लोड बोकेर गुड्ने ट्रक/टि्रपर मात्र रोक्न सक्ने हो भने सडक जोगाउन सकिने निश्कर्ष उनले यात्राकै दौरान निकाले।
काठमाडौं फर्केपछि यातायात, सडक, ट्राफिकका अधिकारीसँग औपचारिक अनौपचारिक छलफल गरे। कसैले जिम्मा लिएन। सबैले दोषको भारी अर्को निकायलाई बोकाए। ढाला थपेर चिसो वालुवा बोकि पानीको धारो लगाउँदै कठमाडौं उक्लिने टि्रपरलाई दश टन मात्र बोक्न दिने हो भने सडकका लागि सञ्जिवनी हुने राय सबैले दिए।
मुलुकको प्रमुख कार्यकारी मातहत सुशासन र भ्रष्ट्रचार नियन्त्रण इकाईको पनि जिम्मेवारी संहालेका पौडेलले यातायात व्यवस्था विभागलाई ट्रक/टि्रपरको भार अनुगमन गर्न निर्देशन दिए। प्रधानमन्त्री कार्यालयले यातायतलाई तत्काल टि्रपरको बढाइएको ढाला काट्न र पानी चुहाउँदै रोक्न भन्यो।
'यातायात विभागलाई हामीले लिखित निर्देशन दियौं,' पौडेलले बिहीबार नागरिकसित भने, 'समय समयमा प्रगति विवरण प्राप्त भइरहेको थियो।'
घर जाँदाको भोगाईबाट थालिएको पहलले राष्ट्रिय राजमार्ग ध्वस्त हुनबाट जोगाउन सकेकोमा उनलाई गौरव पनि लाग्यो। कानुन उल्लंघन गर्दै चलाइने साधनले राष्ट्रिय संरचना ध्वस्त हुने र त्यसको पुनर्निर्माणमा अर्वौ रुपैयाँ खर्च नहोस् भनि पौडेलले पहल गरे।
'प्रमुख राजमार्ग विग्रिएपछि जताबाट पनि सरकारले खर्च जुटाउनैपर्‍यो,' पौडेल भन्छन्, 'त्यसका लागि दुर्गमको कार्यक्रमहरु काटिन्छन् भनेर म अझ बढी चिन्तित भएर लागेको हुँ।'
अधिक भारका यातायातको आवागमन रोकियो भन्ने रिपोर्टले ल्याएको खुशी धेरै दिन टिकेन। यसपालि दशै मानेर फर्किने क्रममा पौडेल आत्तिए।
गुल्मीबाट बुधबार माइक्रोबसबाट काठमाडौं फर्कने क्रममा बाटामा गत सालजस्तै ओभरलोड ट्रक देखेर उनी दिक्क मात्र भएनन्, मुलुकमा मौलाएको दण्डहिनताबाट दुःखी पनि भए। 'दशै भर्खर सकिएकाले बाटामा ट्रक कम थिए। तर सबैजसो ट्रकले दोव्वर/तेव्वर लोड बोकेको मैले नै देखे,' उनले भने, 'टेबुलमा आएका रिपोर्टले मलाई कति भुक्याएका रहेछन्।'
ओभर लोड ट्रक निर्वाध संचालन भइरहेकाले बाटोका अवस्था झनै गएगुज्रेको उनको ठम्याई छ। एक बर्षमा खाल्डा, खुल्डी थपिएका छन्। लगभग आधा सडक कच्चि भैसकेको छ। 'नौविसेदेखि नागढुंगासम्म झनै विभत्स भएको रहेछ,' उनी भन्छन्, 'खाल्डा छल्न माईक्रोले रङ साईडबाट हाक्दा रहेछन्, यसले दुर्घटना, जाम र अरु अलमल हुँदोरहेछ।'

source:nagarik