केटी जिस्काउनेलाई रोक्दा ज्यान गयो :

रामेछाप/ केटी जिस्काएको निहुँमा भनाभन हुँदा कुटिएका गुन्सी गाविसका एकजनाको बिहीबार मृत्यु भएको छ । घाइते गुन्सी-३ का ५५ वषर्ीय विष्णु गौतमको काठमाडौंको बिएन्डबी अस्पतालमा मृत्यु भएको हो ।
स्थानीय युवाले एक युवतीलाई जिस्काएका वेला उनीहरूलाई सम्झाउन गएका गौतम केहीबेरको भनाभनपछि मंगलबार साँझ मरणासन्न हुनेगरी कुटिएका हुन् । गम्भीर घाइते उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि काठमाडौं
लगिएको थियो ।
गौतमको मृत्यु भएपछि प्रहरीले कुटपिटमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । उनीहरूको नाम भने गोप्य राखिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको रामेछापका प्रहरी निरीक्षक पुष्कर केसीले बताए ।


source:nayapatrika