टाढा बसेको निहुँमा पतिद्वारा पत्नीको हत्या :

गौशाला, कार्तिक ६ - लामो समयसम्म आफूसँग टाढा रहेको निहुँमा महोत्तरीमा एक पुरुषले आफ्नी पत्नीको
हत्या गरेका छन् । जिल्लाको डाम्ही मडै गाविस-२ बस्ने श्याम सदाले आफ्नी पत्नी २५ वर्षीया देउलादेवी सदाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
भारतको सीतामढी माइतीघर भएकी देउलादेवी सदा प्रायःजसो माइतीमै बस्ने गरेकी र कहिलेकाहीँ चार-छ महिनामा एक-दुई दिनका लागि मात्र ससुराली गाउँ आउने गरेका कारण पति श्यामले पत्नीको चरित्रमाथि शङ्का गर्दै निजको हत्या गरेको स्थानीयवासीले बताएका छन् ।
बिहीबारका दिन ससुराली आएकी देउलालाई पति श्यामले दाउरा ल्याउन वनमा सँगै लगेको र निजलाई उनले वनमै हत्या गरेर शव लुकाएका थिए ।
जिल्ला प्रहरीबाट गएको प्रहरी टोलीले निज देउलादेवीको शव शुक्रबार बेलुका डाम्ही मडै गाविस-१ स्थित वनमा अमरेन्द्र सिंहको धान खेतको आलीमा झाडीमा लुकाइराखेको अवस्थामा घाँटीमा निलडाम र देब्रे खुट्टाको तिघ्रामा तीन ठाउँमा चुच्चो भएको वस्तुले घोचेको अवस्थामा फेला पारेको प्रहरी उपरीक्षक सञ्जयराज शर्माले बताए ।
साथै प्रहरीले हत्याराका आरोपी श्यामलाई पनि रक्सी खाएर मात्तिएको अवस्थामा पक्राउ गरेको छ ।

source:kantipur