जुत्ता प्रहारप्रति भारतकोःचेतावनी’ :

काठमाडौ, कार्तिक ६ -भारतको विदेश मन्त्रालयले आफ्ना राजदूत राकेश सूदमाथि माओवादीद्वारा भएको जुत्ता
प्रहार र कालोझन्डा प्रदर्शनलाई लिएर नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई कूटनीतिक चेतावनी दिएको छ ।
भारतीय विदेश मन्त्रालयले नेपाली राजदूत रुक्मशमशेर राणालाई अघिल्लो शनिबार साउथ ब्लकमा बोलाई राजदूतमाथिको प्रहार कूटनीतिक मर्यादाविपरीत भएको भन्दै त्यस्ता गतिविधिले द्विपक्षीय सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएको थियो ।
'उहाँहरूले मलाई बोलाउनुभएको थियो, दुःखमनाउ गर्नुभयो । कूटनीतिक मर्यादाविपरीत भयो भन्ने कुरा उहाँहरूले राख्नुभयो,' राजदूत राणाले कान्तिपुरलाई टेलिफोनमा भने, 'मैले हामीलाई पनि दुःख लागेको छ भनें ।'
नेपाली राजदूतलाई भारतीय विदेश मन्त्रालयकी सचिव निरूपमा राव र नेपाल डेस्क प्रमुख सतीश मेहताले भारत सरकारको धारणा अवगत गराएका थिए । राजदूत सूदविरुद्ध दुई साताअघि सोलुखुम्बुको सल्लेरीमा माओवादी पोलिटब्युरो सदस्य गोपाल किराँती नेतृत्वको समूहले विरोध प्रदर्शन गर्दा जुत्ता प्रहारसमेत भएको थियो । सूद चीनको सीमावर्ती खुम्जुङमा भारतीय सहयोगमा बन्ने खानेपानी योजनाको उद्घाटन गर्न त्यसतर्फ गएका थिए ।
'भियना कन्भेन्सन १९६१ अनुसार आतिथ्य प्रदान गर्ने राष्ट्रमा बिनाअवरोध र त्रास कूटनीतिक गतिविधि गर्न पाउनुपर्ने प्रावधानविपरीत उक्त घटना भयो,' काठमाडौंस्थित परराष्ट्र
स्रोतले कान्तिपुरलाई भन्यो, 'यस्तै भाषामा ध्यानाकर्षण गराउने काम भएको हो ।'
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले राजदूतमाथि भएको आक्रमण कूटनीतिक मर्यादाविपरीत भएको भन्दै प्रधानमन्त्री कार्यालयले त्यसैअनुसार सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको बताए । 'राजदूतमाथि जुन खालको प्रहार भयो, त्यो अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादाविपरीत छ । असहमति प्रकट गर्ने यो सभ्य तरिका होइन,' भट्टराईले शुक्रबार कान्तिपुरसँग भने, 'यसले राष्ट्रिय स्वार्थको हित गर्दैन ।'
यसअघि काठमाडौंस्थित भारतीय दूतावासले सल्लेरी घटनाप्रति परराष्ट्र मन्त्रालयलाई असोज २६ गते लिखित विरोध जनाएको थियो । राष्ट्रपति, उपराष्ट्रपति र माओवादी नेताहरूको बाक्लो चीन भ्रमण भइरहेका बेला नयाँदिल्लीले आफ्ना राजदूतमाथि भएको प्रहारलाई लिएर कूटनीतिक विरोध जनाएको हो ।