मामाघर प्यारो :

काठमाडौं, आश्विन ३१ - राजधानीमै रहेकी जिजिविषा भट्टराई यसपालि दसैंमा पनि मामाघर जाने हतारोमा
छिन् । न्युरोडमा भेटिएकी उनी साहित्यकार बुवा रमेशका साथमा किनमेलमा व्यस्त थिइन् ।

'मामाघर नगए दसैं खल्लो हुन्छ जस्तो लाग्छ,' युनाटेड स्कुल कक्षा ८ की छात्रा भन्छिन्, 'त्यसैले मामाघर जान्छु । परिवारका सबै सदस्यहरूसित भेटघाट हुन्छ ।' विशेष योजना नभए पनि पिङ खेल्ने उनी जनाउँछिन् । उनको बुझाइमा दसैं दाजु-भाइ, दिदी-बहिनी, मामा-माइजू, हजुरआमा, हजुरबालगायत आफन्तसँग भेटघाट, बोलचाल र रमाइलो गर्नका लागि हो ।

अछामका कथाकार घनश्याम शर्मा यो दसैं राजधानीमै सिर्जनात्मक ढंगले बिताइरहेको बताउँछन् । 'लेखपढ गर्न, सिर्जनात्मक कामका निम्ति उपयुक्त समय दसैं हो,' घरको फोन र गोजीको मोबाइलसमेत कम सम्पर्क हुने उल्लेख गर्दै भने, 'योपालि मेरो तेस्रो कथासंग्रहको तयारीमा छु ।'

राजधानीका अधिकांश गाउँ फर्किरहेको बेला शर्माले दसैं सहरमै मनाउन दुर्गम गाउँबाट आमालाई निम्त्याएको बताए । 'गाउँ जान परिवारका सबै सदस्य जानुपथ्र्यो,' उनले भने, 'आमालाई नै बोलाइयो, उहाँले दसैं पनि बोकेर आइपुग्नु भएकाले रमाइलो हुदैछ ।'

ललितपुर विशंखुनारायणकी गायत्री आचार्य दसैं नजिकिदै गर्दा मामा-माइजूलगायत आफन्तजनको सम्झना आउने बताउँछिन् । पेसाले उनी गाविस सचिव

हुन् । 'तर योपालि मामा बित्नुभएकाले मामाघर खल्लो भएको छ,' उनी भन्छिन्, 'तैपनि दसैं सबैको साझा हो । आफन्जनहरूसित भेटघाट हुन्छ ।'

राष्ट्रिय चाडमा सरकारी बिदा लामो हुने गरेकाले पनि यसको महत्त्व बढेको आचार्य सुनाउँछिन् । मन्दिरमा गएर पूजाआजा गर्ने, घुमघाम गर्ने, वषौर्ं नभेटेका आफन्तसित भेटघाट गर्ने सुनौलो अवसर हो । टाढाबाट आएका आफन्तसित चिनाजानी बढ्ने भएकाले ठूलाभन्दा बालबालिका र किशोर-किशोरीका निम्ति अझ रमाइलो हुने उनी बताउँछिन् ।

वासुदेव कृष्ण शास्त्री भन्छन्, 'मावन सभ्यता, संस्कृति र परम्पराका निरन्तर अभ्यास भइरहेको छ ।' विश्व परिवेशअनुसार दसैंको परिभाषा युगानुकूल परिभाषित भइरहको

छ । मानवीय साइनो र सम्बन्धलाई पुनःस्थापना गर्ने अवसर भएको उल्लेख गर्दै थप्छन्, 'दसैं कुनै जाति विशेषको होइन, सनातन वैदिक परम्परा हो ।'

आश्विन शुक्लपक्ष घटस्थापनादेखि कोजाग्रत पूणिर्मासम्म १५ दिन दसैंको अवसर हो । यसमा परेवा तिथिदेखि विजयादशमीसम्म नवदुर्गा भवानीको उपासना गरिन्छ । शास्त्रीका अनुसार महाकाली, महालक्ष्मी, महासरस्वतीको उपासना, घर-घरमा दुर्गाको पाठ, देवीशक्तिको चर्चा र स्तुति गरिन्छ । 'इलेक्ट्रोन, न्युट्रोन र प्रोटोनका रूपमा महाकाली, महालक्ष्मी, महासरस्वती हुन्,' उनी भन्छन्, 'कष्ट, पीडा, तनाव, थकानबाट मुक्ति लिने सुअवसर हो दसैं ।' कथाकार शर्मा सामाजिक रीतिरिवाजलाई कायम गर्दा खानपानमा नियन्त्रण हुनुपर्छ भन्छन् । 'मीठो-मसिनो खाने नाममा मासु, रक्सी र अस्वस्थकर खानपानलाई कम गर्नुपर्छ,' उनले भने ।

source:kantipur