काठमाडौँ, असोज २८ - दिनमा २४ पटक चुनाव गरे पनि काँग्रेसले
रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता नलिने अडान महामन्त्री प्रकाशमान सिंहले राखेका छन्। काठमाडौँमा आयोजित दशैँ शुभकामनासम्बन्धी एक कार्यक्रममा सिंहले यस्तो अडान दोहोर्याएका हुन्। उनले देशलाई संकटमा पार्ने काम माओवादी र एमालेले गरिरहेको आरोप पनि लगाए। पौडेलले संवैधानिक बाटो अंगालेका हुन्, त्यो परिवर्तन हुँदैन, उनको कथन थियो।
प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको सय दिन नाघिसक्दा पनि प्रधानमन्त्री चुनिन नसक्नु लज्जास्पद भएको उनको कथन थियो।
नेपालले असार १६ गते राजीनामा दिएपछि १२ पटक चुनाव भइसकेको छ। त्यसमध्ये पछिल्लो पाँच पटक पौडेल एक्ला उम्मेदवार थिए। कात्तिक ९ गते १३ औँ पटक चुनाव हुँदैछ।
source:nagarik