चितवन, असोज २८- सहमतीय प्रणालीको आधारमा मात्रै सरकार गठन गर्ने अन्तरिम संविधानको प्रावधान बदलेर
बहुमतको आधारमा पनि प्रधान मन्त्री चयन र सरकार बन्न सक्ने बुँदा राखेर संविधान संशोधन गर्दाको दिन आफू धरधरी रोएको सभासद् तथा माओवादी नेता अमिक शेरचनले बताएका छन्।
बिहीबार भरतपुरमा पत्रकारहरुलाई उनले यो कुरा सुनाएका हुन्।
यो प्रावधानसहित संविधान संशोधन हुँदा अमिक शेरचन तत्कालीन जनमोर्चा नेपालका अध्यक्ष थिए। मोर्चा र माओवादीबीच एकीकरण भएर एकीकृत नेकपा (माओवादी) नामाकरण भएको हो। आफूले निरन्तर गरेको आग्रहका कारण अन्तरिम संविधानमा सहमतीय प्रणाली राख्न गिरिजाप्रसाद कोइरला तयार भएको दाबी पनि शेरचनले गरे।
उनले भने- नत्र यो प्रावधान राख्न हुन्न भन्नेमा कङ्ग्रेसभित्रै बहुमत थियो। तर अन्तरिम संविधान संशोधन गर्ने बेलामा सहमतीय प्रणालीबाहेक सरकार गठनका लागि अरु प्रवधान राख्न हुन्न भन्नेमा जनमोर्चाभित्रै आफू एक्लो परेको दुखेसो नेता शेरचनले व्यक्त गरे। अहिलेको गतिरोधको गाँठो यही प्रावधानका कारण कस्सिँदै गएको उनको भनाइ थियो।
'संविधान संशोधनका लागि हस्ताक्षर गर्ने बेला आयो। मैले आफ्नो असहमतिसहित संशोधनका लागि हस्ताक्षर गरें। तर मेरो दायाँ बसेका तत्कालीन माओवादीका अध्यक्ष दाहाल र बायाँ बसेका कङ्ग्रेसका रामचन्द्र तथा अगाडि बसेका एमालेका झलनाथले संशोधनको बुँदामा सर्लक्क हस्ताक्षर गरे'- नेता शेरचनले त्यस बेलाको दृश्य वर्णन गरे।
source:nagarik