काठमाडौं, असोज २६ (नागरिक) - दिनको ३० हजार रुपैयाँ तिर्नसक्नु हुन्छ? सक्नुहुन्छ भने तपाईंले काठमाडौंमै मर्सिडिज कार भाडामा लिएर चढ्न सक्नुहुनेछ। मर्सिडिजमात्र होइन बीएमडब्लु कार पनि काठमाडौंमा भाडामा लिन सकिने भएको छ। त्यो पनि ब्रान्ड न्यु।
युरोपको प्रख्यात कार भाडामा लगाउने कम्पनी सिक्स्टले नेपालमा सामान्यदेखि सुविधा सम्पन्न कारलाई भाडामा दिन सुरु गरेको छ।
'नेपालमै पनि सुविधासम्पन्न कार भाडामा लिनेहरु बढिरहेको हुँदा यस्तो सेवा सुरु गरिएको हो,' सिक्स्ट रेन्ट अ कार कम्पनीका अपरेसन मेनेजर आशिष प्रधानले भने।
युरोपको प्रख्यात कार भाडामा लगाउने कम्पनी सिस्क्स अ कार रेन्टले नेपालमा 'नाइन नेपाल' सँग सहकार्य सुरु गरेको हो। यो सहकार्यअन्तर्गत अहिले विभिन्न वर्गका २८ वटा कार सञ्चालन गरिएको छ।
कम्पनीले एक्स्ट्रा लक्जरी वर्गमा पर्ने मर्सिडिज र बिएमडब्ल्यु कार कारलाई दैनिक ३० हजार रुपैयाँ उपलब्ध गराउनेछ। 'यो भाडा तिरेपछि हामी ड्राइभर र इन्धनसमेत आफैंले व्यहोरेर दिनभरि सेवाग्राहीले भनेको ठाउँमा घुमाइदिन्छौं,' उनले भने।
यो कम्पनीले ड्राइभरलाई अंग्रेजी बोल्ने तालिमसमेत दिएको छ। 'एक्स्ट्रा लक्जरी वर्गमा पर्ने कारको लक्षित वर्ग बिदेशी पर्यटक र यहाका अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु हुन्,' प्रधानले भने। सिक्स्टले सबैभन्दा नयाँ कारहरु ल्याएर भाडामा लगाउन थालेको हो। कम्पनीका सबै गाडी २००९ मोडलका हुन्।
कम्पनीले भाडा दिने बेसिक कारको लागि दैनिक चार हजार रुपैयाँ तिर्नुपर्छ। बेसिक कारको वर्गमा राखे पनि यो कारमा एयर कन्डिसनलगायत सुविधा छन्।
कम्पनीले सञ्चालन गरेको लक्जरी वर्गका कारको निम्ति दैनिक ८ देखि १० हजार रुपैयाँ भाडा तिर्नुपर्नेछ। यो वर्गमा निसानको सेफेरो, स्कोडाको सुपर, भक्सवागन जस्ता मोडलका कार पर्छन्।
सरकारले सन् २०११ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने योजना बनाएकाले यस्ता कारले सहयोग गर्ने दाबी कम्पनीको छ।
source:nagarik