असोज २६ (एएफपी)- दक्षिण अफ्रिकाका चर्चित पौडीवाज रोल्यान्ड सुमेनले ठूला संख्यामा उपस्थित भारतीय दर्शकले बाँदरजस्तै
व्यवहार गरेको टिप्पणी गरेपछि राष्ट्रमन्डल खेलकुद आयोजक समस्यामा परेका छन्।
पूर्वविश्वकीर्तिमानी सुमेन आफू ५० मिटर फ्रिस्टाइलको सेमिफाइनलमा पौडिनुअघि उत्पन्न हल्लाबाट रिसाएका थिए।
'यस किसिमको ठूलो स्पर्धामा बाँदरजस्तो व्यवहार गर्ने मानिस हुनुहँुदैन,' उनले भने, 'त्यस्ता हल्ला गर्नेहरू यहाँ उपस्थित हुने योग्य छैनन्।' शनिबार उक्त स्पर्धाको रजत पदक लिन जाँदा त्रु्कद्ध देखिएका दक्षिण अफ्रिकी खेलाडीले भने।
'दर्शकदीर्घामा भएकाहरू खालि हल्ला गरिरहेका थिए, त्यस्तालाई हटाउनुपर्छ,' उनको भनाइप्रति आयोजक समितिका महासचिव ललित भानोटले दुःख व्यक्त गरेका छन्। 'यो दुर्भाग्यपूर्ण हो,' उनले भने।
उता राष्ट्रमन्डल खेलकुद महासंघ (सिजिएफ) अध्यक्ष माइकल फेन्नेलले कुनै किसिमको साम्प्रदायिक टिप्पणी अस्वीकार्य हुने बताए। तर यी सबै मैत्रीपूर्ण खेल भएका हुनाले दक्षिण अफ्रिकी अधिकारीसमक्ष कुनै किसिमको विरोध व्यक्त नगरिएको भानोटले बताए।
'जहाँसम्म सिजिएफको प्रश्न छ, हामीले यस किसिमको व्यवहार र साम्प्रदायिक टिप्पणीलाई सहन सक्तनौं। यसलाई रोक्नै पर्छ,' फेन्नेलले भने।
पौडी र आर्चरीस्थलमा हल्लाका कारण उत्पन्न समस्याका सम्बन्धमा आएका रिपोर्टबारे बोल्दै उनले खेलको संवेदनशील क्षणमा दर्शक चुप लागेर बस्ने व्यवस्था आयोजकले मिलाउनुपर्ने बताए।
उता सुमेनले पनि आफ्नो टिप्पणीबाट बिग्रन लागेको स्थितिलाई सम्हाल्न टि्वटरको मद्दत लिँदै आफ्नो क्रोध एक जनाप्रति निर्देशित भएको स्पष्ट पारेका छन्।
'मेरो जीवनमा पहिलो पटक ५० मिटर फ्रिस्टाइलको पदकका लागि तयार हँुदा एक जनाले चिच्याइरहेको थियो,' उनले लेखेका छन्, 'ती व्यक्तिको व्यवहार निकै खराब थियो र मेरो टिप्पणी उनीतर्फ निर्देशित थियो।'
source:nagarik