अब सय दिन बाँकी :
काठमाडौ, आश्विन २२ - दस लाख पर्यटक भित्राउने महत्त्वाकांक्षी लक्ष्यसहित घोषण गरिएको पर्यटन वर्ष शुभारम्भ हुन एक सय दिन बाँकी छ ।
पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र सम्बद्ध व्यवसायीले बिहीबार बाँकी रहेको १ सय दिनमा नेपाललाई पर्यटन आउन सक्ने गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । नारायणहिटीमा आयोजित कार्यक्रममा प्रतिबद्धताअनुसार कामको थालनीसमेत भइसकेको पर्यटनमन्त्री शरतसिंह भण्डारीले दाबी गरे ।
'ठूला योजना र काम गर्न नसके पनि महत्त्वपूर्ण कामको सुरुवात गरेका छौं,' बिहीबार बिहान वसन्तपुरमा प्रधानमन्त्रीको अगुवाइमा भएको सफाइ अभियानलाई इंगित गर्दै भण्डारीले भने । वसन्तपुरमा गरिएको सफाइ अभियानलाई देशभर फैलाउन सम्बद्ध पक्ष र आमनेपालीलाई उनले आग्रह गरे ।
बाँकी रहेको एक सय दिनमा सरकारले देशभर सफाइ अभियान सञ्चालन गर्ने, विमानस्थल सुधार र व्यवस्थित गर्ने, पर्यटक भित्रने प्रमुख नाकामा हुने दुर्व्यवहार हटाई व्यवस्थित बनाउन स्वयंसेवक परिचालन गर्ने र आन्तरिक/विदेशी सबै पर्यटकका लागि यातायात सेवा व्यवस्थित गर्ने योजना बनाएको छ ।
'यति काम पूरा भएपछि यहाँ आउने पर्यटकले नयाँखाले आतिथ्य पाउनेछन्,' पर्यटनमन्त्री भण्डारीले भने । सडक, नाका र यातायात व्यवस्थित गर्न स्थानीयसँग पर्यटन सम्बद्ध पक्षले सहकार्य गर्नेछ । त्यस्तै विमानस्थल रंगरोगनदेखि सम्पूर्ण सरसफाइ र सुधारका लागि नागरिक उड्डयन प्राधिकरणले ५ करोड रुपैयाँ खर्च गर्दै छ ।
नेपालीको मिलनसार, सहयोगी बानी, परम्परागत संस्कृति, खानपान र यहाँ रहेको प्राकृतिक सौन्दर्यले पर्यटकलाई नेपाल आउन बाध्य बनाउने गरेको उनले बताए । 'ठूला तारे होटल र भवनले उनीहरूलाई आकषिर्त गर्दैन,' भण्डारीले भने 'हामीसँग भएका थोरै र राम्रा साधनस्रोतको सदुपयोग महत्त्वपूर्ण कुरा हो ।'
उनले पर्यटनलाई ग्रामीणमुखी बनाई त्यस्ता क्षेत्रको बासिन्दाको जीवनशैली परिवर्तन गर्न योजना बनाइने बताए । ग्रामीण पर्यटन विकास गर्न तारा गाउँ विकास समितिलाई सामग्री बिक्री-वितरणमा रोक लगाई उसको स्रोत ग्रामीण क्षेत्रमा परिचालन गर्ने तयारी सरकारले गर्दैछ ।
पर्यटकीय गतिविधिलाई अवरोध गर्ने गतिविधि हुनु र फोहोरका कारण प्राकृतिक सौन्दर्य बिग्रनु पर्यटनको मुख्य चुनौती भएको पर्यटन सचिव किशोर थापाले बताए । 'अहिले बन्द, हडताल छैन,' उनले थपे 'अबको काम भनेकै सरसफाइ हो, यसका लागि बजेट पनि चाहिँदैन ।'
पूर्वाधारको कमी भए पनि विमान कम्पनीको विस्तारको माग बढ्नु, पर्यटक आगमन उल्लेख्य रूपमा बढ्नुले अन्तर्राष्ट्रियस्तरमा नेपाल
पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात भएको संकेत गरेको बेार्डका प्रमुख कार्यकारी प्रचण्डमान श्रेष्ठले बताए ।
source:kantipur