वडादसैं आरम्भ :

काठमाडौ, आश्विन २२ - हिन्दूहरूको महान् चाड वडादसैं शुक्रबारदेखि पन्ध्र दिनसम्म अर्थात् आश्विनशुक्ल
प्रतिपदादेखि पूणिर्मासम्म परम्परानुसार दुर्गाभवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ ।
वडादसैंको पहिलो दिन शुक्रबार बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ ।
शुक्रबार बिहान ९:४१ बजे घटस्थापना, विजयादशमीका दिन बिहान ७:२३ बजे देवी विर्सजन र बिहान १०:४३ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष माधव भट्टराई बताए ।
यसैगरी, असोज २८ गते बिहीबार फूलपातीका दिन बिहान ११:०३ बजे तुलजाभवानीको यात्रा तथा ११:५५ बजे थिराशनका लागि साइत जुरेको उनको भनाइ छ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गर्ने गरिन्छ । यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ-आफ्ना घरआँगनलाई लिपपोत गरी सिङ्गारेर सफासुग्घर पार्ने प्रचलन छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने यस पर्वअर्न्तर्गत नवरात्रिका उपलक्ष्यमा शुक्रबारदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
वडादसैँको सातौँ दिन मलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौ दिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूणिर्माका दिन जमरा विर्सजन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ ।
यस चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको नौंरुप शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड नवदुर्गापूजाका नामले पनि प्रसिद्ध छ ।
परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुगा र अन्य शक्तिपीठहरूमा पनि देवीको पूजाआराधना हुन्छ ।
विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्यहरू घर र्फकने क्रम सुरु भएको छ ।

source:kantipur