तनहुँ र चितवन जोड्ने पुल भत्कन लाग्यो :

तनहुँ, असोज १८- पुलका दुवै छेउमा हातमा हरिया र रातो झण्डा लिएर युवा बसेका छन्। तर उनीहरु सडक
विभागका कर्मचारी होइनन्। जीर्ण पुल जोगाउन कसिएका आँबुखैरेनी – ८, जीपगाउँका एक दर्जन युवा अहिले त्रिशूली नदीको पुलमा एकतर्फ सवारी साधन व्यवस्थापनमा जुटेका हुन्।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँ र चितवन जोड्ने त्रिशूली नदी माथिको पुलका दुई सपोर्ट भाँचिएपछि दुर्घटना रोक्न युवा लागिपरेका हुन्। उनीहरुले बिहीबारदेखि पुलमा एकतर्फी सवारी साधन सञ्चालन गर्दै आइरहेका छन्।

दशैंको बेला सवारी साधनको चाप बढ्ने भएकाले सवारी दुर्घटना हुन सक्ने भएर पुलमा एकतर्फी सवारी साधन आवातजावत गर्न थालेको स्थानीय युवा जय गुरुङले बताए। उनले भने- जीर्ण पुल संरक्षण गर्न यो अभियान थालेका हौ। जीपगाउँका १५ युवा आजभोलि दैनिक कामकाज छाडेर सवारी व्यवस्थापनमा जुटेका छन्। युवाहरुले एक पटकमा एउटा गाडीमात्रै पुलबाट पार गराउने गरेका छन्।

पुलमा विच्छाएका काठ कुहिएका कारण पुलमा खाल्टा–खुल्टी परेका र कालोपत्रे सडक समेत भत्किएका कारण पुल जीर्ण भएको उनले बताए। उनले भने- पुलमा बनेको प्वालबाट नदीसमेत देखिन्छ। सडक कार्यालयले तिहारपश्चात पुल मर्मत गर्ने प्रतिबद्धता दिएकाले एक महिनासम्म स्वयमसेवकको रुपमा पुलमा सवारी व्यवस्थापन गर्ने उनले बताए।

क्षमताभन्दा बढी लोड र सवारी साधनको चापका कारण पुल जीर्ण भएको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय तनहुँका सिनियर डिभिजिनल विष्णुप्रसाद पौडेलले बताए। उनले भने- बढी लोड ढुवानीका लागि काठको प्रयोग गरिए पनि मर्मत सम्भारको अभावमा पुल जीर्ण भएको हो। पुलको सामान्य आयु ५० वर्ष भए पनि मर्मत सम्भार भए दीर्घकालीनरुपमा सञ्चालन हुने उनले बताए। उनले भने- ड्रेकिङमा काठको प्रयोग गर्दा पुल बलियो हुन्छ। ङ्रेकिङ गाडी गुड्ने सडकको माथिल्लो भाग हो।

source:nagarik