सबै जिल्ला अप्टिकल फाइवरले जोडिने :

काठमाडौ, आश्विन २५ - सबै जिल्लालाई अप्टिकल फाइवरमा जोड्न सरकारले
टेन्डर आह्वान गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले छिट्टै टेन्डर आह्वान गर्ने जनाएको हो ।
प्राधिकरणका एक अधिकारीका अनुसार टेन्डर आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले सन् २०१४ भित्र कम्तीमा सबै जिल्ला सदरमुकाममा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्ने गरी 'जिल्ला अप्टिकल फाइवर नेटवर्क आयोजना' सुरु गरेको हो । यो आयोजनाका थालनी गत आर्थिक वर्षबाट भएको हो । आयोजनाका लागि ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
प्राधिकरणका निर्देशक आनन्दराज खनालले यसै आर्थिक वर्षमा काम सुरु भए आगामी तीन वर्षमा आयोजना पूरा गर्ने योजना छ । 'दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनी टेन्डर प्रतिस्पर्धामा आउन सक्नेछन्,' उनले भने, 'उनीहरू एक्लै वा सामूहिक रूपमा आउन सक्नेछन् ।' प्राधिकरणले टेन्डर आवेदनको सूचना एक महिनाभित्र पूर्ण रूपमा तयार हुने जनाएको छ । तयारी पूरा भए पनि इच्छुक दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीका लागि सूचना प्रकाशित गरिनेछ । यो आयोजना पूरा हुँदा मुलुकले डाटा सेवाको विस्तारमा महत्त्वपूर्ण फड्को मार्ने जानकारहरूले बताएका छन् ।
उच्च गतिको इन्टरनेटको विस्तारमा सहयोग पुर्‍याउने यो आयोजनाका लागि आवश्यक बजेट ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम प्रयोग गरिनेछ । यो दूरसञ्चार सेवा प्रदायक कम्पनीले आफ्नो नाफाबाट बुझाएको निश्चित रकम जम्मा भएर बनेको कोष हो । अहिले यस कोषमा करिब २ अर्ब रुपैयाँ छ । आयोजना चरणगत रूपमा सञ्चालन गरिनेछ । कोषको रकम आयोजनाका लागि अपुग भए अन्य स्रोतबाट जुटाइने प्राधिकरणले जनाएको छ ।
यसका साथै सरकारले यसै आर्थिक वर्षभित्र ब्रोडब्यान्ड नीति ल्याउने तयारी गरिरहेको छ । 'विश्वमा ब्रोडब्यान्डको आवश्यकता लगातार बढिहरको छ,' उनले भने, 'सूचना तथा सञ्चार प्रविधिको विकासमा अप्टिकल फाइवर नेटवर्क अत्यावश्यक भएको छ ।'
सरकारले ई-गभर्नेन्सका लागि काम सुरु गरेको बेला ब्रोडब्यान्ड नीतिले त्यसलाई सहयोग पुर्‍याउने बिज्ञहरू बताउँछन् । मस्यौदाका रूपमा रहेको नीतिमा ब्रोडब्यान्डमा हुनुपर्ने न्यूनतम गति, अपलिंक र डाउनलिंक कति हुनुपर्ने जस्ता व्यवस्था छन् । यसले सेवाको गुणस्तरमा सुनिश्चितता हुनुपर्ने प्रावधान पनि यसमा छ ।
नेपाल टेलिकमले चीनसँग अप्टिकल फाइवर सञ्जाल जोड्न काम गरिरहेको छ । यो यसै आर्थिक वर्षभित्र पूरा गर्ने कम्पनीको योजना छ । टेलिकमको अप्टिलक फाइवर सञ्जाल योजनाले कम्पनीको नेटवर्क र चाइना टेलिकमको नेटवर्कलाई तातोपानी र रसुवाको स्टेसनबाट जोडिनेछ ।
अहिले टेलिकम इस्टवेस्ट अप्टिकल फाइवार सञ्जालबाट जोडिएको छ । भातरको बाटो हुँदै हङकङ, कोरिया, जापान र अन्य देशबाट डाटा 'सेन्डिङ र रिसिभिङ' गर्ने काम गरिरहेको छ । अमेरिका र युरोपसँग सम्पर्कका लागि टेलिकमले स्याटलाइट प्रविधि प्रयोग गरिरहेको छ ।

source:kantipur