तीनकुने-जडिबुटी ६ लेन सडकको आज उद्‍घाटन :

काठमाडौ, असोज २५- मुलुककै सबैभन्दा फराकिलो छ लेन सडकले राजधानीको सवारी आवागमनमा
उल्लेखनीय परिवर्तन ल्याएको छ। तीनकुने-सूर्यविनायक सडकमध्ये जडिबुटीसम्मको खण्ड सोमबार औपचारिक उदघाटन हुँदैछ।
निर्माणपछि ट्राफिक नियन्त्रणका हिसाबले काठमाडौंकै जटिल विन्दु कोटेश्वरको आवागमनलाई सहज बनाएको मात्र छैन, छिमेकी सहर भक्तपुरको यातायातलाई अहिल्यै सजिलो तुल्याइसकेको छ। सानोठिमी भएर जाने उक्त सहरको बैकल्पिक मार्ग जडिबुटीबाटै छुट्टिने गर्छ।

'कोटेश्वरबाट भक्तपुरतर्फको यात्रा यसअघि प्रति घन्टा औसत २० किलोमिटरका हिसाबले हुने गरेको थियो,' आयोजना प्रमुख सरोज प्रधानले आइतबार नागरिकलाई भने, 'अहिले जडिबुटीसम्म त्यही सडक भएर प्रति घन्टा ६० देखि ८० सम्म सहजै यात्रा गर्न सकिन्छ।'

जडिबुटीबाट भक्तपुर जानका निम्ति दुईवटा बाटोका विकल्प हुने गर्छ। सानोठिमी भएरै भक्तपुर जोडिने पुरानो बाटो पनि हालै नयाँ पक्की गरिएकाले पहिलेभन्दा यात्रा सहज भइसकेको छ।

यातायात व्यवसायी मुधकर केसी जडिबुटीसम्म सडक बनेकै स्थितीमा पनि निकै खुशी छन्। कोटेश्वरका स्थानीय वासिन्दा समेत रहेका उनी बाटो तयार हुनुअघि आफन्तहरु त्यहा आउन समेत दिक्क मान्ने गरेको बताउछन्।

जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा सन् २००८ को जनवरीबाट सुरु भएको यो योजना तोकिएको अवधिभन्दा निकै ढिलो गरेर अघि बढिरहेको छ। यसको जम्मा नौ दशमलब एक किलोमिटर लम्बाइ मध्ये हाल तयार भएको खण्ड १६ सय मिटर छ। जबकि साढे दुई वर्षमा यो सम्पूर्ण आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। आयोजनाले अहिलेकै अवस्थामा पनि निर्धारित अवधिमै काम सम्पन्न गर्ने दाबी गरिरहेको छ। उद्घाटन हुने पहिलो खण्ड असारभित्रै सिध्याउने लक्ष्य थियो।

चार लेन सडक र दुवैतर्फ दुई लेन सोल्जर सहितको यो सडक केन्द्रबाट १४ मिटर चौंडा छ। पुरै आयोजनालाई दुई अर्व १६ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा हाल सम्पन्न खण्डलाई ७५ करोड रुपैयाँ लगानी गरिसकिएको छ।

काठमाडौको पूर्वी क्षेत्रमा केही वर्षयता जनसंख्या बढी रहेको बेला यो बाटोले त्यसलाई सहज बनाउने आयोजनाको भनाई छ।

'यो बाटोले हाललाई भक्तपुरतर्फको यात्रा सहज बनाउने मात्र होइन,' आयोजना प्रमुख प्रधान भन्छन्, 'आगामी दश वर्षको 'ट्राफिक फ्लो'लाई समेत ध्यानमा राखेर तयार पारिएको छ।'

प्रधानका अनुसार तीन वर्षअघि उक्त सडकको सर्भे गर्दा दिनभरमा पचास हजार गाडी गुड्ने गरेको थियो। जबकि अहिल्यै यस सडकबाट दैनिक औसत ७० हजार सवारीसाधन ओहोर दोहोर गर्न थालिसकेका छन्।

प्रधानका अनुसार उक्त खण्डको निर्माण सम्पन्नसँगै सम्पूर्ण आयोजनाको करिब सत्तरी प्रतिशत कामसमेत पुरा भैसकेको छ। विशेष गरेर मनोहरा र हनुमन्ते पुल निर्माण भइसकेकाले यसपछिको काम सजिलै अगाडि बढ्न सक्छ।

'यस सडकमा जडिबुटी, गठ्ठाघर, ठिमी, सल्लाघारी र सुर्यविनायकमा जन्क्सन हुनेछ,' उनी भन्छन्, 'तीमध्ये जडिबुटी, गठ्ठाघर र सल्लाघारीको ट्राफिक लाइट आयोजनाले नै तयार पार्नेछ भने बाँकी स्थानमा नेपाल सरकारकै जिम्मा दिइनेछ।' उद्घाटन भएपछि यो खण्डलाई नियन्त्रण गर्न सजिलो हुने तर्क कोटेश्वर ट्राफिक प्रहरी वृत्तका निरिक्षक प्रेम जोशी गर्छन्।

'सोमबारदेखि नै गाडीहरुलाई कडाइका साथ तोकिएका विसौनीबाटै सञ्चालन गर्न लगाइनेछ,' जोशीले भने, 'पैदल यात्रुलाई समेत अनिवार्य रुपमा जेब्रा क्रसिङ्गबाट मात्र बाटो काट्न लगाउनेछौ।'

source:nagarik