सूदले भारतबाट पचास लाख नेपाली फिर्ता गर्ने धम्की दिएः किराँती :

सोलुखम्बु, आश्विन २१ - सोलुखम्बु भ्रमणमा रहेका भारतीय राजदूत राकेश सुदले भारतमा रहेका ५० लाख नेपालीलाई फिर्ता गर्ने धम्की दिएको
माओबादी पोलिटव्यूरो सदस्य गोपाल किराँतीले बताएका छन् । राष्ट्रिय स्वाधीनताको कुरा गर्दा आफूलाई भारतीय राजदुतले ५० लाख नेपालीलाई फिर्ता गर्ने धम्की दिएको सभासद् किराँतीले बताए ।
बुधबार माओबादी कार्यकर्ताले सदरमुकाममा राजदुत सुदलाई जुत्ता प्रहार गरेको विषयलाई लिएर विहिबार रिपोर्टस क्लब सोलुखुम्बुले गरेको साक्षात्कारमा पूर्व मन्त्री किराँतीले हालसम्मका सन्धी सम्झौता खारेज गरी नयाँ सन्धी सम्झौता गर्न, अन्तर्राष्ट्रिय कानुन बमोजिम नेपालले पारवहन सुविधा पाउनुपर्ने र नेपालको राजनीतिक स्थायित्वका लागि छिमेकी मुलुक चीन, भारत र नेपालबीच उच्चस्तरीय रणनीतिक योजना बनाएर अघि बढ्न अनुरोध गर्दा सुदले भारतमा रहेका पचास लाख  नेपालीलाई फिर्ता गर्ने त ? भनेर प्रतिप्रश्न गरेको सभासद् किराँतीले बताए ।
विरोध प्रदर्शनपछि अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा वार्ता गर्न फाप्लु विमानस्थल पुगेका सभासद् किराँतीलाई राजदूतले 'आई एम ईन्डियन' भनेर हिन्दी या अंग्रेजीमा वार्ता गर्ने बताएको नेता किराँतीले बताए ।
बुधबार माओबादी कार्यकर्ताले सुद चढेको गाडीमा जुत्ता प्रहार गरेकोमा आफुलाई गर्व लागेको बताउँदै सभासद किराँतीले सुदसगको बार्ता पार्टी अध्यक्ष दाहालकै निर्देशनमा भएको जानकारी समेत गराए ।

source:kantipur