नवलपरासी (गैँडाकोट), कात्तिक १- केटी जिस्काएको निहुँमा नवलपरासीको दाउन्नेदेवीमा टीकाको रात
दाजुभाइको छुरा हानी हत्या भएको छ। जिल्लाको दाउन्नेदेवी गाविस-७ पृथ्वीबस्ती बस्ने वर्ष २८ का सुरेश देवकोटा र वर्ष २२ का मनु देवकोटाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ।
स्थानीय युवतीलाई जिस्क्याएको भन्दै दाउन्नेदेवी गाविस-७ तेलाहाडाँडा बस्ने तीनजनाले देवकोटा दाजुभाइको हत्या गरेको बताइएको छ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लैजानेक्रममा भलुही भन्ने ठाउँमा मृत्यु भएको हो।
घटनालगत्तै तेलाहा डाँडाका वर्ष ३४ का सन्दिप तामाङ, सोही स्थानका वर्ष ३३ का नुमराज गुरुङ र वर्ष ३३ का सङ्गम तामाङ फरार रहेको र उनीहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले हत्यामा संलग्न भएको आशङ्कामा स्थानीय १७ वर्षीय युवती देवकी विकलाई नियन्त्रणमा लिएको छ।
शव पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको छ।
source:nagarik