पूर्वराजा ज्ञानेन्द्रले २०६५ जेठमा नारायणहिटी दरबारको खचाखच भरिएको एउटा कोठामा
पत्रकार सम्मेलन गरेर नागार्जुनको 'जंगल बास' थालेका थिए । शुक्रबार उनले जंगलबाट झरेर सहरमा सक्रिय हुन थालेको औपचारिक घोषणा गरे सोल्टी होटलमा अर्को पत्रकार भेटघाट गरेर । यसको माध्यम बनाइयो नवघोषित 'हिमानी ट्रस्ट' लाई जसमा ज्ञानेन्द्रकी छोरी, बुहारी र श्रीमतीसमेत जोडिएका छन् ।
पूर्वराजा नारायणहिटीबाट नागार्जुन उक्लेको दुई वर्षमा बाग्मतीमा मात्र धेरै पानी बगेको छैन, नेपाली राजनीतिको शक्तिसन्तुलनमा समेत ठूलै फेरबदल आइसकेको छ । यही मौकामा पूर्वराजपरिवारको सार्वजनिक सक्रियता बढेको छ जसका निम्ति अमुक पात्र बनाइएकी छन् पूर्वयुवराज्ञी हिमानी । उनको 'ग्ल्यामर' राजावादी राजनीतिका निम्ति नयाँ ऊर्जा बनेको छ ।
पोखराको प्याराग्लाइडिङदेखि दोलखाको मन्दिर र काठमाडौंका सिनेमा हलमा समेत प्रकट हुने र नाइटोमा 'रिङ' झुन्ड्याएको तस्बिरमा झुल्कने पूर्वशाही परिवारकी यी बुहारीको छवि पति पारस र ससुरा ज्ञानेन्द्रको जस्तो नकारात्मक छैन । कुनै बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा 'बेबी किङ' का रूपमा प्रस्तावित हृदयेन्द्रकी आमा पनि हुन् उनी । सायद यी सबै कारण सामाजिक सक्रियताका निम्ति अगुवा बनाइएको छ हिमानीलाई ।
पूर्वराजपरिवारले संगठित रूपमा थाल्न खोजेको सामाजिक सेवालाई जनतामाझ पुग्ने र सार्वजनिक सक्रियता बढाउने माध्यम बनाएको देखिन्छ । दरबार हत्याकाण्डलगत्तै दिवंगत राजा वीरेन्द्रको सम्पत्ति 'ट्रस्ट' मा राखी सामाजिक क्षेत्रमा योगदान पुर्याउन कतिपयले दिएको सुझावलाई उसबेलाका नवराजा ज्ञानेन्द्रले वास्ता गरेका थिएनन् तर ढिलै गरी त्यस्तै बाटो रोजिएको छ । संयोग कस्तो परेको छ भने आफ्ना पति पारसले एक अन्तरवार्तामार्फत एनजीओ-आईएनजीओले देश बिगारेको आरोप लगाएको केही दिनमै हिमानीले त्यस्तै प्रकृतिको संस्था गठन गरेकी छन् । पूर्वराजपरिवारका सबैजसो सदस्य सरिक रहेको ट्रस्ट घोषणा कार्यक्रममा संयोगवश उनै पारसचाहिँ उपस्थित थिएनन् ।
हिमानीको संस्थाको क्रियाशीलता वा प्रभावकारिता केकति रहला वा त्यो घोषणामै सीमित होला, त्यो निकट भविष्यमै देखिएला तर पूर्वराजा स्वयंले बुहारीको प्रयासलाई शक्ति सुदृढ पार्ने आफ्नो अभियानको सहायक माध्यम मानेजस्तो देखिन्छ किनभने उनको ध्यान मुख्यतः धार्मिक राजनीतिमा केन्दि्रत छ । हिजो शनिबार पनि उनी पाटनको बंगलामुखी मन्दिर पुगे । ज्ञानेन्द्र राजा छँदा जेजति धार्मिक अनुष्ठानमा सहभागी हुन्थे, गद्दीबाट हटेपछि मठमन्दिरमा उनको उपस्थिति त्यसभन्दा बढेको छ । एक समय 'धार्मिक सम्राट' भनिएका राजालाई हटाई गणतन्त्र घोषणा गरिएको र हिन्दु अधिराज्यलाई धर्मनिरपेक्ष बनाइएको विषय सायद उनी एकअर्कामा जोड्न चाहन्छन् किनभने कतिपय गणतन्त्र समर्थकसमेत धर्मनिरपेक्षताको निर्णयप्रति सन्तुष्ट छैनन् । त्यसैले पूर्वराजा राजनीतिक शक्ति सञ्चय गर्न धार्मिक कार्डको प्रयोग गर्न खोज्दै छन् ।
ज्ञानेन्द्र मात्र होइन, राजतन्त्र पुनस्र्थापनाको खुला वकालत गर्ने एक मात्र पार्टी राप्रपा नेपालले पनि हिन्दुवादी राजनीतिमा पाइला बढाइरहेको छ । त्यसबाहेक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लगायत पछिल्ला परिवर्तन नरुचाउने यथास्थितिवादी शक्ति पनि मुलुकमा धेरै कमजोर छैन अनि ती परिवर्तन मुलुकको हितमा छैन भन्ने मान्यता बोकेको तटस्थ जनमत पनि छ । आधिकारिक अडान जे लिएका भए पनि हरेकजसो राजनीतिक दलमा यस्तो परम्परागत प्रवृत्तिको धेरथोर अवशेष छ । दरबार नभएकाले दिल्लीको प्रभाव बढ्यो भन्ठान्ने जमात पनि नेपाली समाजमा छँदै छ ।
राजतन्त्र पक्षधरले यो सबै वस्तुगत अवस्थाबाट लाभ उठाउन चाहेको देखिन्छ । यसबाहेक उनीहरूले आफ्नो पक्षमा जनमत बनाउन मुलुकभित्र मुख्यतः माओवादीको र बाह्य रूपमा छिमेकी भारतको रणनीतिक आड लिन चाहेको देखिन्छ । निश्चय पनि हिजो ज्ञानेन्द्रको गद्दी छिनिनुमा 'माघ १९' मा सत्ताहरण गरेको केही महिनापछि भारतसँग बढेको उनको टकराव पनि एउटा प्रमुख कारण थियो तर गद्दीच्युत भएर नागार्जुनमा एकल बास सुरु भएपछि बिस्तारै उनले आफ्ना भारतीय सूत्रहरू परिचालन गर्न थाले । सरकारमा पुगेको माओवादीको अतिवाद बढ्न थालेको त्यस क्षणमा उसलाई 'चेक एन्ड ब्यालेन्स' गर्न राजावादी कार्ड खोल्ने काम दिल्लीबाट भयो ।
त्यसबीच माओवादीले पनि राजावादीसँग निकै हिमचिम बढाइसकेका थिए जसलाई तटस्थीकरण गर्न भारतीय राजदूत राकेश सूदले ती राजावादीहरूका 'टाउके' पूर्वराजा ज्ञानेन्द्रसँगै भेटे । त्यसपछि एकातिर माओवादी-राजावादी हिमचिम घट्यो भने अर्कोतिर ज्ञानेन्द्रको उच्च महत्त्वका दुइटा दिल्ली भ्रमण सम्भव भए । त्यस क्रममा उनले भारतीय सत्ता प्रमुख सोनिया गान्धीदेखि प्रभावशाली मन्त्रीलगायत थुप्रैलाई भेटे तर त्यसपछि खासै राजनीतिक लाभ हासिल गर्न सकेनन् ।
सायद माओवादी त्यही अवस्थाको प्रतीक्षामा थिए । त्यसैले सत्ता बहिर्गमनपश्चात् उनीहरूले भारतलक्षित राष्ट्रिय स्वाधीनताको आन्दोलन मात्र थालेनन्, राजावादीसँग पुनः हिमचिम बढाए । देशभित्र-बाहिर अनेक भलाकुसारी भए । त्यही सन्दर्भमा केही माओवादी नेतासँग पूर्वराजाका छोरीज्वाइँ राजबहादुर सिंहको निकटता निकै बढ्यो । सिंह तिनै व्यक्ति हुन् जो 'माघ १९' को पूर्वसन्ध्यामा तत्कालीन राजदरबार र माओवादीबीच सत्तासमीकरण निर्माण गर्न जुटेका सूत्रधारहरूमध्ये एक थिए । प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामापछि माओवादी नेतृत्वमा सरकार गठनको सम्भावनासँगै उनी पनि एउटा सानो पार्टीमा प्रवेश गरे ।
यद्यपि भारतसँग वैमनस्यका बीच सरकार गठनको माओवादी प्रयास सफल भएन । राजबहादुर सिंहलाई एउटा डिस्कोमा अबेरसम्म बसेको सामान्य आरोपमा हतकडी लगाई रातभरि हनुमानढोका हिरासतमा थुनियो । चैतको त्यो घटनायता उनी गुमनामप्रायः भएका छन् । पूर्वराजपरिवारका तर्फबाट हिमानी, पारस र स्वयं ज्ञानेन्द्र सतहमा आएका छन् । त्यो सक्रियता बढी नै हुन थालेपछि कुमारी दर्शनका निम्ति वसन्तपुर जान खोजेका ज्ञानेन्द्रलाई सरकारले उनकै निर्मल निवासमा रोकेर समेत राख्यो ।
ज्ञानेन्द्र उक्त घटनापश्चात् शुक्रबार र शनिबार लगातार फेरि सार्वजनिक कार्यक्रममा देखापरेका हुन् । उनका यस्ता गतिविधिलाई सरकारले रुचाइरहेको छैन तर सोलुखुम्बुमा भारतीय राजदूतलाई दुव्र्यवहार गर्ने माओवादीले चाहिं ज्ञानेन्द्रलाई कतै अवरोध पुर्याएको देखिन्न । उनीहरूले भारतसँग थोरै मात्र मतभेद राख्ने वा राष्ट्रवादी अडान लिने जोकोहीसँग सहकार्य गर्ने, सम्भव भए संयुक्त मोर्चासमेत बनाउने नीति लिएका छन् तर राजावादीसँग माओवादीको मौसमी हिमचिमले गणतन्त्रप्रति उनीहरूको प्रतिबद्धतालाई नै सन्देहको दायरामा ल्याइरहेको छ । 'सांस्कृतिक राजतन्त्र' को अप्रासंगिक चर्चाले अनावश्यक ठाउँ पाएको छ ।
माओवादीले पार्टीगत लाभहानिका निम्ति मृत राजतन्त्रलाई महत्त्व दिइरहने हो भने त्यसले कुनै बिन्दुमा दुर्घटनासमेत निम्त्याउन सक्छ किनभने अहिलेको शाही सल्बलाहट मुलुकमा राजनीतिक संकट सिर्जना गरेर शान्ति स्थापना तथा संविधान निर्माणको जारी प्रक्रिया ध्वस्त पार्ने र आफ्नो संस्थाको औचित्य पुष्टि गर्ने लक्ष्यबाट निर्देशित छ । नेपालमा अन्तरिम संविधानमा गरिएको संशोधनले मात्र गणतन्त्र आएको र त्यो संविधान नै बेकामे भएपछि वा अहिलेको समग्र प्रक्रिया बिथोलिएपछि राजतन्त्रको पुनरोदय सम्भव हुने कतिपयको परिकल्पना छ ।
वास्तवमा परिवर्तनकारी दलहरूकै विफलताका कारण राजावादी राजनीति मौलाएको हो । अहिले संसद्ले प्रधानमन्त्रीसमेत छान्न सकेको छैन, संविधानसभा निष्क्रिय छ, शान्ति प्रक्रिया अगाडि बढेको छैन, दलहरूबीच मात्र विवाद छैन, हरेक दल आन्तरिक किचलोबाट ग्रस्त छन् । यी सबै कारण दल र नेता ऐतिहासिक रूपमा बदनाम भएका छन् । यही वितृष्णा र निराशाबीच ज्ञानेन्द्र शाह र उनको टिम अनेक मोर्चाबाट सक्रिय भएको छ । हिमानी-ग्ल्यामरको प्रदर्शन जसको पछिल्लो संस्करण हो ।
हिजो ज्ञानेन्द्रको असफलताले शाहवंशीय राजतन्त्र नै समाप्त भएको थियो । अहिले दलहरूको गल्तीले शान्ति र संविधानको वर्तमान प्रक्रिया दुर्घटनामा पर्ने खतरा छ । यस्तै भइरहे भविष्यमा राजतन्त्रसमेत पुनस्र्थापना हुन सक्छ भन्नु अतिरञ्जित हुनेछ तर नेताहरूले बिथोलिएको राजनीति सम्हाल्न नसक्ने हो भने परम्परागत शक्तिहरूलाई नकारात्मक लाभ उठाउने ठाउँचाहिँ मिलिरहनेछ ।
source:kantipur