मध्यम वर्गलाई लक्षित गरी घडेरीभन्दा सस्तोमा अपार्टमेन्ट :

काठमाडौं, असोज २४- मध्यम वर्गको आकर्षण बढेपछि हाउजिङ कम्पनीले अपार्टमेन्टमा लगानी गर्न थालेका
छन्। आवास कोलोनीमा बनेका व्यक्तिगत घरभन्दा फ्ल्याट सस्तो हुने भएकाले मध्यम वर्गका ग्राहकको आकर्षण अपार्टमेन्टमा छ। अहिले दसैंलाई लक्षित गरेर करिब एक दर्जन कम्पनीले अपार्टमेन्ट बिक्री खुला गरेका छन्।

'कोलोनीका घर किन्न मध्यम वर्गका ग्राहकले सक्दैनन्,' शुक्रबार ललितपुरको धापाखेलमा बन्न लागेका दुई वटा अपार्टमेन्टको बुकिङ खुला गरेको सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङले भने। उनले संयुक्त आवासतर्फ मध्यम वर्गलाई तान्न अपार्टमेन्ट निर्माण सुरु गरिएको जानकारी दिए।

'पहिले हामीले सामूहिक आवास क्षेत्र विकास गरेर व्यक्तिगत घर मात्र बनायौं,' तामाङले भने, 'अहिले अपार्टमेन्ट बनाउनु पर्छ भनेर लागेको छौं। उनले सामान्य व्यक्तिगत घरको मूल्य पनि डेढ/दुई करोड पर्न थालेकाले मध्यमवर्गका लागि अपार्टमेन्ट उपयुक्त हुने बताए। 'घडेरीको मूल्यभन्दा सस्तोमा फ्ल्याट किन्न सकिन्छ,' तामाङले भने।

२०६१ मा भैसेपाटीमा कोलोनी विकास गरेर हाउजिङ सुरु गरेको सिभिल होम्सले तेस्रो चरणसम्म व्यक्तिगत घरमात्र बनाएको थियो। धापाखेलमा अपार्टमेन्ट बुकिङ खुल्ला गरेको उसले सुन्धारमामा लग्जरी अपार्टमेन्ट बनाइरहेको छ। निर्माणाधीन सुन्धाराको अपार्टमेन्टको पनि चाँडै बुकिङ खुल्ला हुने तामाङले बताए।

थोरै ठाउँमा धेरैको बसोवास व्यवस्था मिलाउन सकिने भएकाले हाउजिङ कम्पनी अपार्टमेन्टतर्फ आकर्षित भएको ओरियन्टल समूहका प्रमुख बजार व्यवस्थापक रवि बुढाथोकीले बताए। 'यसको लागत पनि थोरै पर्छ,' उनले भने, 'ठाउ" अभाव हुने सहरमा उपयुक्त छ।'

कुलेश्वरमा अपार्टमेन्ट बनाएर बिक्री गरिसकेको ओरियन्टल समूहले कोहिनुर हिल हाउजिङअन्तर्गत हाल सानेपा र नक्सालमा अपार्टमेन्ट निर्माण गरिरहेको छ। दुवै अपार्टमेन्टको ६० प्रतिशत बुकिङ भइसकेको बुढाथोकीले जानकारी दिए। ओरियन्टल समूहकै आयुष डेभलपर्सले भने १३ लाख ८० हजार मूल्यका फ्ल्याटको बुकिङसमेत गराइसकेको छ।

ग्राहकको आकर्षण बढेकाले घर बनाइरहेको गुण कोलोनीले पनि अपार्टमेन्ट निर्माण गरिरहेको छ। मध्यम वर्गलाई लक्षित गर्दै कम्पनीले सस्ता अपार्टमेन्टसमेत बनाइरहेको छ। गुण कोलोनीले १३ लाख रुपैया"देखि मूल्य सुरु हुने गरी अपार्टमेन्ट बनाउन थालेको निर्देशक रविन्द्र श्रेष्ठले बताए।

गुण कोलोनीले ललितपुरको भैसेपाटीमा सस्ता ३ सय वटा फ्ल्याटको आपार्टमेन्ट बनाइरहेको छ। एक बेडरुमका १३ लाखमा र दुई बेडरुमका फ्ल्याट १८ लाखमा ३-३ सय वटा अपार्टमेन्टको अग्रिम बुकिङ भइसकेको छ।

गुण कोलोनीले सिनामंगल, लाजिम्पाट र पानीपोखरीमा निर्माण गरेका अपार्टमेन्टका फ्ल्याट बिक्री गरिसकेको छ। उसले ललितपुरको ग्वार्कोमा जिएन र काठमाडौंको बुद्धनगरमा बीएन अपार्टमेन्ट निर्माण सुरु गरेको श्रेष्ठले बताए। दुवै अपार्टमेन्टका धेरै फ्ल्याट बुकिङ भइसकेका छन्। 'दसैंपछि बाँकी फ्ल्याटको पनि बुकिङ खुल्ला गर्छौ,' उनले भने।

शुक्रबारै बुकिङ खुल्ला गरेको सोल्टी सिटीको निर्माता कम्पनी प्लाटिनम डेभलपर्सका अध्यक्ष गणेश अग्रवाल पनि मध्यम वर्गका लागि अपार्टमेन्ट उपयुक्त हुने बताउँछन्। 'हामीले मध्यम वर्गलाई लक्षित गर्दै अपार्टमेन्ट बनाइरहेका छौं,' उनले भने। अग्रवाल सञ्चालक रहेको मेरो सिटीले १३ लाखका फ्ल्याटसमेत बुकिङ गराइसकेको छ।

जग्गाको भाउ अकासिएकाले पछिल्ला वर्षमा मध्यमवर्गको आकर्षण अपार्टमेन्ट तर्फ तानिएको वागमती होम्सका प्रबन्ध निर्देशक भेषराज लोहनीले बताए। 'घर बनाउन कम्तिमा साढे २ आना जग्गा चाहिन्छ,' लोहनीले भने, 'त्यत्ति जग्गा किन्ने मूल्यभन्दा अपार्टमेन्ट सस्तो छ।

source:nagarik