चौकीमै लुटेरा भेटिएपछि... :

काठमाडौं, असोज २५ - आफ्नै घरभित्र लुटिएको उजुरी बोकेर शनिबार बेलुका
विष्णु न्यौपाने महानगरिय प्रहरीवृत्त महाराजगञ्ज पुगे। न्यौपानेलाई साथ दिन परिवारका सदस्य र छिमेकी समेत आएका थिए। न्यौपानेले त्यहाँका प्रमुख दिपक थापाको कार्यकक्षमा पुगेर घटनाको विवरण सुनाए। महाँकाल गाविस -५ गोल्फुटारका न्यौपाने भान्जा र भान्जी बुहारीको साथमा भलाकुसारी गरिरहेको बेला एक्कासी घरभित्र २ जना अपरिचित छिरेर लुटेका थिए। एक जना कोठा बाहिर बसेर पहरा दिइरहेका थिए।

कोठाभित्र छिरे लगत्तै २ जनाले न्यौपाने र उनका आफन्तलाई कुनामा राखेर कुट्न थाले। एक जना लुटेराले 'तरुनी भेला पारेर जे पायो त्यही गर्छस्,' भन्दै न्यौपानेलाई भकुरे अनि न्यौपानेका भान्जा र भान्जा बुहारी पनि कुटिए।

न्यौपानेले 'केही नगरेको र घरमा रहेका मान्छे आफन्त हुन्,' भन्दा पनि उनीहरुले मानेनन्। उल्टै बढी बोल्छन् भन्दै कुटे। उनीहरुले न्यौपानेसँग पैसा मागे। उनको कोठामा केही पाईन्छ कि भनेर चहारे। घरमा केवल १२ हजार रुपैंयाँमात्र फेला पर्‍यो।

तर, लुटेरा सन्तुष्ट भएनन्। थप रकम मागे। न्यौपानेले 'अरु त छैन,' भनेपछि उनलाई कुट्दै कुमारी सेभिङ्ग चाबहिलको चेक नम्बर १०१८२८६५ मा ५० हजार लेख्न लगाएर र हस्ताक्षर पनि गराए। उनीहरुले जाने बेलामा 'कतै भनिस् भने मर्छस् भन्दै धम्क्याएर भागे।'

यही घटना विवरण सुनेपछि डिएसपी थापाले लुटेराको हुलिया सोधे। न्यौपानेले खुलाए, 'पहिलो तराईवासी,कालो कालो वर्णको। अग्लो, पातलो ज्यान भएको। दोस्रो हेर्दै डरलाग्दो ज्यान भएको, गोरो वर्णको। तेस्रो कालो वर्ण भएको। बाहुन जस्तो देखिने, पातलो ज्यान।' हुलिया आएलगत्तै थापाले लुटेराको खोजीमा प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली खटाए।

महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंमा विशेष सुरक्षा योजना लागू गरेपछि वृत्तले आफ्नो क्षेत्रको संवेदनशील क्षेत्रमा प्रहरी बढाए पनि लुटपाट भएकोमा थापाको चिन्ता बढेको थियो। उनी पीडितको साथमा बसेर लुटेरा पक्राउ गर्ने रणनीति बुन्न थाले।

लुटेराले विष्णुको साथमा रहेको १२ हजार नगदका साथै फाइनान्सको ५० हजारको चेक लिएर गएका थिए। डिएसपी थापा पिडितलाई शनिबारनै लुटेराहरु पक्राउ नपरेपनि आईतबार उनीहरु फाईनान्समा चेक साट्न आउँदा पक्राउ गर्ने योजना बनाए।

बेलुका साँढे ६ वजे कार्यालयको आंगनमा वृत्तका प्रहरीलाई भेला पारेर निर्देशन दिने काम सुरु भईरहेको थियो। एक प्रहरी रोलकल गर्दै थिए। लुटपाटपछि उम्किएका लुटेरा सहजै पक्राउपर्ने सम्भावना थिएन। थापाले पिडितलाई जसरी पनि लुटेरा पक्राउ गर्छु भन्दै आश्वस्त बनाए। न्यौपाने आफन्तसँगै थापाको कोठाबाट बाहिर।
लगत्तै उनी हस्याङ फस्याङ गर्दै थापाको कोठामा फर्किए। थापाले सोध्नुभन्दा अगाडि नै उनले भने, 'सर लुटेरामध्ये एक जना यही छ।' थापा चकित परे। कोठाबाट बाहिरिँदै सोधे 'कहाँ ?' न्यौपानेले प्रहरीको भीडमा औलाले देखाए। ती थिए बृत्तमै कार्यरत प्रहरी जवान जितेन्द्र हजारा।

प्रहरीको बीचबाट हजारालाई थुतेर डिएसपी थापाले उनलाई आफ्नो कोठामा लगेर सोधपुछ सुरु गरे। प्रारम्भमा आनकानी गरेका हजारा थापाको अगाडि लामो समय टिक्न सकेनन् र अन्य सहयोगीको नाम खुलाए-प्रहरी जवान कुशलचन्द्र भण्डारी र कोमलबहादुर बस्नेत। चालकको रुपमा कार्यरत दुबै प्रहरी कार्यालय बाहिर थिए। थापाले तत्काल अर्को टोली पठाएर दुबैलाई पक्राउ गरी वृत्त कार्यालयमा ल्याइयो।

त्यत्तिबेलासम्म हजाराको बयान बाहेक अन्य कुनै प्रमाण फेला परेको थिएन। प्रहरीले पक्राउ गरेर ल्याएका प्रहरी भन्डारीको गोजी चेक गर्दा डिएसपी थापाले उसको साथबाट न्यौपानेले जाहेरीमा उल्लेख गरेको कुमारी सेभिङ्ग चाबहिलको १०१८२८६५ नम्बरको चेक र लुटिएकोमध्ये १० हजार नगद फेला पर्‍यो। उनले तत्काल घटनाबारे महानगरिय प्रहरी परिसर काठमाडौंमा जानकारी दिए। माथिबाट आदेश आयो, 'हिरासतमा राखेर कार्वाही गर्नु।' थापाले आदेश दिए 'यी तीनै जनालाई खोरमा थुन।'

डिएसपी थापाका अनुसार वृत्तले आईतबार काठमाडौं जिल्ला अदालतबाट तीनै जना प्रहरी विरुद्ध लुटपाटको अभियोगमा हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति लिइसकेको छ। अदालतको अनुमति लगत्तै तीनै जनालाई निलम्बन गरिएको थापाले बताए। नागरिकसँग थापाले भने, 'लुटेराहरुको खोजी गर्नुको साटो आफैं लुट्नेलाई कहाँ छोड्छु र!'

source:nagarik