काठमाडौं, मंसिर २९ - पूर्व युवराज पारस शाहको रिहाइको माग गर्दै बुधबार विभिन्न जिल्लामा
प्रदर्शन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत केही राजावादी व्यक्तिहरुले प्रदर्शन गरेका हुन् ।
चितवन संवाददाता नारायण शर्माका अनुसार पारस शाहलाई पक्राउ गरिएको बिरोधमा चितवनका राजावादीहरुले भरतपुरस्थित पारश वसपार्क नजिक सडकमा प्रर्दशन गरेका छन् ।
उनीहरुले राजमार्गमा पारस सरकार जिन्दावाद, बंगालादेशी रुबेल चौधरीलाई पक्राउ गर् जस्ता नारा लगाउँदै पुर्वपश्चिम महेन्द्रराजमार्गको यातायात ठप्प पारेका थिए । दिउँसोदेखि यातायात खुल्यो ।
उनीहरुले रुबेल चौधरी 'हतियार खरिद काण्डको नेपाली नाइके' भएको आरोप पनि लगाएका छन् । बन्दका बेला पनि भरतपुरका पसलहरु भने पुरै खुले । नेपालको राष्ट्रिय झण्डा बोकेर उनीहरु सडकमा उभिएका थिए ।
राप्रपा नेपाल चितवनका अध्यक्ष बद्रि तिमिल्सिनाको नेतृत्वमा रहेका करिब डेढ सय युवाहरुले सरकार विरोधी नारा लगाउँदै शान्तिपुर्ण प्रर्दशन गरेका हुन् ।
सुनसरी संवाददाता अवधेशकुमार झाका अनुसार राप्रपा नेपालका कार्यकर्ताहरुले साँझ सुनसरी सदरमुकाम इनरुवामा मसाल जुलुस प्रर्दसन गरेका छन् । स्थानिय शान्ति चौकवाट निस्केको मसाल जुलुस नगरको बिभिन्न भागको परिक्रमा गर्दे लोकतान्त्रिक चौकमा पुगी कोण सभामा परिणत भएको थियो ।
कोण सभामा राप्रपा नेपाल सुनसरीका कार्यबाहक अध्यक्ष राम बिलास मेहताले पुर्व युवराज पारसलाई राजनितिक प्रतिसोधका कारण पक्राउ गरिएको भन्दै तत्काल प्रहरीको नियन्त्रणवाट मुक्त नगरे अझ कडा आन्दोलन थाल्ने बताए ।
दोलखा संवाददाता राजेन्द्र मानन्धरका अनुसार सदरमुकाम चरिकोटमा स्थानीय युवाहरुले साँझ मसाल जुलुस निकालेका छन् । सदरमुकाम परिक्रमा गरेका दुई दर्जन युवाहरुले पारसलाई तत्काल मुक्त गर्न माग गरेका छन् ।
कपिलवस्तु संवाददाता मनोज पौडेलका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पूर्वयुवराज पारसको रिहाईको माग गर्दै सदरमुकाम तौलिहबामा जुलुस निकालेका छन् ।
स्थानिय तौलेश्बर नाथ मन्दिरमा भेला भई दिउँसो जुलुस निकालेर बजार परिक्रमा गरिएको थियो । राजतन्त्रको पक्षमा नारा लगाउँदै निस्केको जुलुस प्रशासन कार्यालय पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा राप्रपा नेपालका केन्द्रीय सदस्य कृष्णबहादुर चौधरी, जिल्ला अध्यक्ष नारायणबहादुर सिंह, राष्ट्रिय जनशक्ति पार्टीका जिल्ला अध्यक्ष चिनकनप्रसाद कुर्मी र महिला संघ अध्यक्ष बिजयलक्ष्मी सिंह लगायतले तत्काल पारसको रिहाईको माग गरेका छन् ।
यसैबीच राप्रपा नेपाल र बिश्व हिन्दु महासंघले पारशको रिहाईको माग गर्दै बिहिबार कपिलवस्तु बन्दको घोषणा एक बिज्ञप्ती निकालेर गरेको छ ।
जनकपुर संवाददाता श्यामसुन्दर शशिका अनुसार पूर्व युवराज पारस शाहलाई पक्राउ गरेको विरोधमा राप्रपा नेपाल सम्बद्ध कार्यकर्ताहरुले वुधवार जनकपुरमा प्रदर्शन गरे ।
जिल्ला अधिवेशनमा भेला हुन आएका राप्रपा नेपालका कार्यकर्ताहरु पारस शाहलाई अविलम्ब रिहाईको मांग गर्दै नारावाजी गरेका थिए । जिल्ला अधिवेशनको उदघाटन सत्रलाई संवोधन गर्दै राप्रपा उपाध्यक्ष हेमवहादुर मल्लले पारसलाई पक्राउ गरेको घटनाको विरोधमा राष्ट्रव्यापी आन्दोलन गर्ने घोषणा गरेका थिए ।
महेन्द्रनगर संवाददाता चित्रांग थापाका अनुसार राप्रपा नेपाल, शिवसेना नेपाललगायतका दलका कार्यकर्ताहरुले पश्चिमान्चलमा पनि प्रदर्शन गरेका छन् । सानो-सानो समूहमा बजारमा निस्किएको समूहले पारसलाई तत्काल मुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
source:kantipur