पारसलाई कस्ले रोक्ने, पारसको गाडी बिमानकै छेउमा :


पोखरा, पुस २ - चितवनको गोलीकाण्डपछि धरौटीमा छुटेका पूर्वयुवराज पारस शाह चढेको गाडी शुक्रबार
पोखरा विमानस्थलको जहाज पार्क गर्ने ठाउँसम्म पुर्‍याएका छन् । 
बिशिष्ट व्यक्तिहरुलाई पनि विमानस्थलकै भित्री  गेटमा झरेर भिआइपी कक्ष हुँदै पैदल जाने नियम रहेपनि पारसलाई त्यो पालना गर्नु परेन । उनी चढेको गाडी चालकसहित विमान पार्किङ गरिने 'एप्रोन' सम्म पुर्‍याएको थियो । वा ५ च ८९७९ नम्बरको लेन्डरोभर गाडीमा चढेका पारस त्यहीबाट विमान चढेका थिए ।
उनले सँधै बन्द हुने  फलामे ढोकाबाट गाडी छिराएर एप्रोन कक्षसम्म पुगेका हुन् । विमानस्थलमा खटिएका सुरक्षाकर्मीले भने सुरक्षाको दृष्टिकोणले माथिको आदेश अनुसार उनलाई जान दिइएको बताए ।
होटलबाट दिउँसो ३.४० मा निस्केका पारस अपरान्ह ४ बजे फिस्टेल एयरबाट काठमान्डौं प्रस्थान गरे । बिहानैदेखि उनीसँग कुराकानी गर्न होटलमा बसेका पत्रकारलाई ३.३० मा राप्रपा नेपालका जिल्ला सदस्य नारायण गुरुङले होटलबाट बाहिर निकालेका थिए ।
पारसलाई चितवनको टाइगरटप्स लजमा उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीसँगको विवादपछि गोली चलाएको अभियोगमा बिहीबार हिरासतबाट धरौटीमा छुटेर पोखरा गएका थिए ।
source:kantipur