पारस आइपुगे, सुजाताको विरोधमा चर्का नाराबाजी :

पुस २- पोखराबाट काठमाडौं आएका पूर्व युवराज पारस शाहको विमानस्थलमा भव्य स्वागत गरिएको छ। छत खुला गर्न मिल्ने मोटरमा चढेका उनलाई पुष्पगुच्छा
दिनेले घेरिरहेका छन्। उनको समर्थनमा उत्रेकाले सुजाता कोइरालाको नागरिकता छानबिनको माग पनि गरे।

उनलाई स्वागत गर्नेको काठमाडौं विमानस्थलमा यतिखेर भिड नै लागेको छ। पञ्चेबाजा र नाराजुलुससहित उपस्थित समूहले अहिले उनको पक्षमा नारा लगाइरहेको छ। पारसका शुभेच्छुकहरु विमानस्थलको डोमेष्टिक कक्षदेखि बाहिरैसम्म दोहोर लाइन हातमा फूल र गुच्छा लिएर बसेका थिए। फिस्टेल एयरको हेलिकोप्टरमा आएका उनी करिब १० मिनेट पैदल हिँडेका थिए।

उता विमानस्थल पस्ने मुख्य गेटअगाडि करिब १ हजार जना स्वागतका लागि बसेका छन्। उनीहरुसँग पञ्चेबाजा टोली पनि छ। स्वागतका लागि बसेकाहरु 'पारस सरकार जिन्दावाद' जस्ता नारा लगाइरहेका छन्। नारा लगाउनेले उपप्रधान मन्त्री सुजाता कोइराला जर्मन नागरिक भएको र उनको थर जोष्ट भएकाले उनको नागरिकता छानबिन गर्नुपर्ने नारा लगाएका थिए। उनीहरुले सुजाता र उनका ज्वाइँ रुबेल चौधरीविरुद्ध चर्का नारा लगाइरहेका छन्।

पारस शाह तीन बजे काठमाडौं आउने भनिए पनि ढिलो भएको थियो। उनी फिस्टेल एयरको हेलिकोप्टरद्वारा आएका हुन। उनको आगमनसँगै विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षा व्यवस्थामा सहभागी छन्।

उनको स्वागतका लागि राप्रपा नेता सगुन लावतीसहित अन्य नेता कार्यकर्ता, हिरो शिव श्रेष्ठ, ज्योतिष माधव भट्टराईलगायत् विमानस्थलमा उपस्थित थिए।

उपप्रधान मन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीलाई शनिबार चितवनको सौराहामा हवाइ फायरिङ गरेको भन्दै उनलाई प्रहरीले पक्रेको थियो। पक्राउको भोलिपल्टै चितवन प्रशासनले उनलाई १० हजार रुपियाँ धरौटीमा छाडेको थियो। लगत्तै पारस पोखरा गई बसेका थिए।

यसैबीच सरकारले पूर्व युवराजलाई दिइएका सबै सुविधा खोसिएको घोषणा गरे पनि उनले पहिलेकै हाराहारीमा सुरक्षा सुविधा पाएका छन्। एस्कर्टिङसहितको अन्य सुरक्षा सुविधामा उनी विमानस्थलबाट बाहिरिएका थिए। सौराहा फायरिङ काण्डपछि सरकारले उनलाई दिइएको सुविधा खोसिएको घोषणा गरेको थियो।

source:nagarik